इटहरी । सुनसरी इटहरी–१९ तरहरास्थित राष्ट्रिय तथा सामुदायिक वनबाट काठ तस्करी गरेको आरोपमा सामुदायिक वनका पदाधिकारी नै पक्राउ परेका छन् ।

स्थानीय ब्रह्मपुर सामुदायिक वन समूहका अध्यक्ष मनोज तामाङलाई प्रहरीले पक्राउ गरेको हो । डिभिजन वन कार्यालय सुनसरीका निमित्त धर्मनाथ यादवका अनुसार वनक्षेत्रबाट पटक–पटक काठ तस्करी गरेको प्रमाण फेला परेपछि अध्यक्ष तामाङलाई पक्राउ गरिएको हो । तामाङ पक्राउ परेलगत्तै फरार रहेका ब्रह्मपुर सामुदायिक वनका उपाध्यक्ष टेकबहादुर बस्नेत, उपभोक्ता समिति सदस्य एवम् वन हेरालु आशिष तामाङ र पेम्बा तामाङविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरी खोजी भइरहेको डिभिजनका निमित्त प्रमुख यादवले बताए । तरहरालगायत आसपासका वनक्षेत्रबाट व्यापकरूपमा काठ तस्करी हुने गरेको समाचार ब्लाष्टले गत फागुन १८ गते नै प्रकाशित गरेको थियो । राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रबाट तस्करी गरिएको भारीमात्रामा गोलिया ब्रह्मपुर वन क्षेत्रमा लुकाएको अवस्थामा बरामद गरेको थियो ।

एकै दिन ४० लाख मूल्य बराबरको गोलिया बरामद भएपछि काठ तस्करको खोजीसँगै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख धर्मनाथ यादवले बताए । अनुसन्धानका लागि डिभिजन वन कार्यालय सुनसरीले सव–डिभिजन वन कार्यालय पाँचकन्या धरानका प्रमुख एवम् वन अधिकृत महेशकुमार साहलाई अनुसन्धान अधिकृत तोकेर काम अघि बढाएको उनले बताए । घटनाबारे सोधपुछका लागि ब्रह्मपुर सामुदायिक वनका अध्यक्ष मनोज तामाङलाई बयानका लागि पत्र पठाए पनि सम्पर्कमा नआएपछि तामाङविरुद्ध टोलीले अनुसन्धान अघि बढाइएको थियो । अदालतले पत्र काटेलगत्तै फरार रहेका अध्यक्ष तामाङसहितलाई अदालतबाटै पक्राउ पुर्जी जारी गरिएको थियो ।

फरार चारजनामध्ये सामुदायिक वनका अध्यक्ष तामाङलाई भने गत मङ्गलबार राति उनकै घरबाट पक्राउ गरिएको डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख धर्मनाथ यादवले बताए । पक्राउ तामाङ हाल इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका छन् । उनलाई वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको डिभिजन वन कार्यालय सुनसरीले जनाएको छ । गत १२ गते ब्रह्मपुर सामुदायिक वन क्षेत्रबाट बरामद भएको गोलिया पनि समितिका अध्यक्ष तामाङकै नेतृत्वमा लुकाइएको अनुसन्धानबाट खुलेको डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख यादवले बताए । काठ तस्करी गर्न अध्यक्ष तामाङको समूहले ट्याक्टरको समेत प्रयोग गर्ने गरेको बताएको छ ।

यता काठ तस्करीमा वन कर्मचारीको पनि संलग्नता रहेको भन्दै हाँसपोसा सामुदायिक वनका अध्यक्ष महेन्द्र गिरीले सव–डिभिजन वन कार्यालय तरहराका प्रमुख दिनेशप्रसाद यादव र ब्रह्मपुर सामुदायिक वनका अध्यक्ष तामाङविरुद्ध इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दिएका छन् । सव–डिभिजन वन कार्यालय तरहराका प्रमुख दिनेशप्रसाद यादवले आफू त्यस्ता घटनामा संलग्न नभएको दाबी गरे । तस्करीमा संलग्न भएको प्रमाणित भए प्रचलित कानूनअनुसार सजाय भोग्न आफू तयार रहेको पनि उनले बताए । वन क्षेत्रबाट कर्मचारी र सामुदायिक वनकै पदाधिकारीको संलग्नतामा काठ तस्करी हुने गरेको उपभोक्ताहरूको आरोप छ ।