महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले बर्सेनि आयोजना हुने 'मार्केट मार्च' मा यो वर्ष महिला उद्यमीका ३० स्टल रहने छन् ।

श्रम आन्दोलनबाट स्थापित अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन २८ देखि २९ गतेसम्म २ दिन महिला उद्यमीका उत्पादन बिक्री र प्रदर्शनीमा रहने छन् । बुधबार पत्रकार सम्मेलन गर्दै फिटनेस सेन्टरले 'मार्केट मार्च' बारे जानकारी गराएको हो ।

हेण्डिक्राफ्टका सामग्री, घर सजावटका समान, बुटिक तथा दैनिक प्रयोग हुने कपडाहरु, लोकल तथा पहाडी भेगका खाद्यन्नहरु, अर्गानिक तरकारी र फलफूल, नर्सरी, उनीका कपडा, विभिन्न प्रकारका अचारहरु, जातीय परिकारहरुलागायत महिला उद्यमीका उत्पादन स्टलमा राखिनेछ ।

स्टलमा यो वर्ष विशेषरुपमा नेपालय पब्लिकेसनका किताबहरु उपलब्ध हुनेछन् ।

महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सके स्वत: आत्माविश्वास प्राप्त गर्न सक्छन् भन्ने मान्यताअनुरुप झुनास फिटनेसले विगत ३ वर्ष देखि एकल प्रयासमा महिला दिदीबहिनीहरुले उत्पादन गरको वस्तुहरुलाई प्रर्दशनी र बिक्रीका लागि अवसर प्रदान गर्दै आएको सन्चालक झुना राईले बताइन् ।

महिला दिवसलाई अवसर बनाएर उद्यमी, व्यवसायी महिलाहरुको जमघट बढाउने 'मार्केट मार्च' को उद्देश्य रहेको उद्यमी सविता राईले जानकारी दिइन् ।

'उद्यमी महिलाहरुका लागि एक अवसर प्रदान गर्ने, उत्पादन र उपभोक्ताबीच सिधै सम्पर्क हुँदा वस्तुहरु सुलभ र सस्तोमा प्राप्त गर्न सक्ने र  हरेक वर्ष नयाँ महिला उद्यमीहरुको पहिचान गरी वस्तुहरुको बजारीकरण गर्न सहज बनाउने छ, ' उद्यमी राईले भनिन्, 'मार्केट मार्चले महिला उद्यमीहरु बीच सहकार्य बढ्नेछ ।'

धरान-१९ स्थित विकास मार्ग विपी डेन्टल गेट अगाडि रहेको 'झुनाज फिटनेस एण्ड वेलनेस'द्वारा आयोजित 'मार्केट मार्च' मा प्रत्येक साझ स्थानीय कलाकरले साङ्गीतिक प्रस्तुति समेत दिने कार्यक्रम रहेको छ ।