मोरङको केराबारी- ५ सतिसालेस्थित श्री सावित्री माविको तीन दिवसीय स्वर्ण महोत्सवका अवसरमा एउटै मञ्चमा १८ सर्जकले गजल र कविता वाचन गरेका छन् ।

स्वर्ण महोत्सवको दोस्रो दिन मंगलबार साँझदेखि अबेर रातिसम्म कवि गजलकार तथा कलाकारहरुले साहित्य तथा सांस्कृतिक महफिलमा आफ्ना सिर्जना प्रस्तुत गरे ।

शिक्षा, सिर्जना र कला समृद्धिको आधार भएकाले विद्यालयले स्वर्ण महोत्सवमा साहित्य र संस्कृतिलाई आत्मसात गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक विमल राईले बताए ।

सो अवसरमा विद्यालयका पूर्व विद्यार्थी तथा कवि प्रकाश दिप्साली राईलाई साहित्यको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
मञ्चमा सम्मानित कवि दिप्सालीका दुई कवितासहित कविहरु सुदीप पाख्रिन, पराजित पोमु, इन्दु नेपाल योन्जन, जनकऋषि राई, नवराज विष्ट, समीक्षा छिलिङ राई र नवीन छेत्रीलगायतले कविता प्रस्तुत गरे ।

यस्तै दीपा मग्राती, रत्न तुम्बाहाम्फे, श्यामप्रसाद फुयल, कुमार धमला, गुणराज धमला, मनिष कुवरले आफ्ना रचना प्रस्तुत गरे ।

गजलकारहरु युवराज ठकुरी, अस्मिता भट्टराई, केवल धमला, खेमराज आचार्यलगायतले गजल प्रस्तुत गरे ।

आयोजित सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रममा स्थानीय कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।