विराटनगर । मोरङको लेटाङमा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको झण्डै १३ लाख रुपैयाँ चोरी भएको छ ।

लेटाङ नगरपालिका–२ फँडानीमा रहेको मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रुपैयाँ र खैरेनीमा रहेको शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रुपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए । उनका अनुसार मुख्य कार्यालय र शाखा कार्यालयबाट गरेर १२ लाख ८१ हजार ३० रुपैयाँ चोरी भएको छ ।

सहकारीमा चोरी भएको समय खुल्न नसकेको र बुधबार बिहान मात्रै घटनाका बारेमा थाहा भएको अध्यक्ष भट्टराईको भनाइ छ । ‘सहकारीको पर्खाल नाघेर चोरीमा संलग्न भित्र छिरेको पाइयो । मुख्य कार्यालयभित्र तीनवटा गेट थिए । एउटा गेटमा ४ वटासम्म ताला लगाइएको थियो’ उनले भने, ‘सबै गेटको ताला तोड्दै भित्र छिरेर ‘सेफ’ भएको ठाउँमा पुगेको देखिन्छ । ‘सेफ’ को लक तोडेर रकम लगेको पाइयो । चोरीमा संलग्नले ताला नै लिएर गएको थाहा भयो ।’

उनका अनुसार सहकारी प्रवेश गर्ने मुख्यसहित ४ वटा गेट थिए । तर, मुख्य गेट छाडेर चोरीमा संलग्न पर्खाल नाघेर सहकारीमा छिरेको र ३ वटा गेट भने तोडेको पाइएको भट्टराईले बताए । ‘एउटामा ४ वटासम्म ताला लगाएर गेटलाई दह्रो बनाइएको थियो । तर, ती सबै ताला तोडेर चोरी गरेको पाइएको छ’ उनी भन्छन्, ‘घटना निकै शङ्कास्पद छ । अनुसन्धान गरेर चोरीमा संलग्न पत्ता लगाउनका लागि प्रहरीलाई भनिसकेका छौँ ।’

सहकारीको पछाडि साइरनसहितको ताला भएको गेट पनि थियो । चोरीमा संलग्नले उक्त गेटलाई भने नचलाएको अध्यक्ष भट्टराईको भनाइ छ । उनका अनुसार शाखा कार्यालयमा  भने ताला तोडेर मूल ढोका तथा चेन गेट फोड्दै भित्र छिरेर चोरी गरेको पाइएको छ । सहकारीमा गत वर्ष पनि चोरीको प्रयास भएको जानकारी उनले दिए ।

सहकारीको निगरानीका लागि सिसी क्यामेरा जडान गरिएको थियो । तर, चोरीमा संलग्नले सिसी क्यामेराको डिभाइस नै लिएर गएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सिसी क्यामेराको डिभाइस नै गायब पारिएकाले घटनामा संलग्नको पहिचान गर्न समस्या भइरहेको छ । पहिचान गरेर चोरीमा संलग्नलाई पक्राउ गर्नका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।

घटनाको प्रकृति हेर्दा सहकारीका बारेमा सबै जानकारी राख्नेले नै चोरी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर भीमलाल ओली नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।