विराटनगर । विराटनगर–१८ का ५३ वर्षीय मिटरब्याजी सुनिलकुमार साहबाट पीडित भएका दमादिगी बस्तीनजिकै अर्को गाउँमा पनि आधा दर्जन बढी पीडित भएको खुलेको छ ।

विराटनगर–१८ लावाघाट बस्तीका आधा दर्जन घरपरिवार मिटरब्याजी साहको फन्दामा परेर घरवारविहीन हुने अवस्थामा पुगेका हुन् । यसअघि ब्लाष्टले मिटरब्याजी साहले दमादिगी बस्तीका गरिब र निमुखालाई मिटरब्याजमा ऋण दिने र घरबारविहीन बनाउने धन्दा नै चलाएको समाचार प्रकाशित गरेको थियो । त्यसपछि पीडित परिवारले मिटरब्याजी साहविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । ६ जना पीडितले उजुरी दिएपछि मिटरब्याजी साहबाट पीडित भएकाहरू खुल्न थालेका छन् । सोमबार स्थलगत रिपोर्टिङको क्रममा दमादिगी गाउँदेखि करिब एक सय मिटर उत्तरमा रहेको लावाघाट बस्तीका आधा दर्जन बढी साहबाट पीडित गएको गुनासो गरेका छन् । साहको मिटरब्याज धन्दाले यो बस्तीका दर्जनौँ मानिसहरू घरबारविहीन हुने अवस्थामा पुगेको पीडितहरू बताउँछन् ।

विराटनगर–१८ लावाघाटकी ४५ वर्षीया जानकीदेवी मण्डलले ११ वर्षअगाडि मिटरब्याजी सुनिलसँग १० धुर जमिन राजीनामा पास गराएर ४५ हजार रुपैयाँ ऋण लिइन् । जानकीको श्रीमान् कुलानन्द मण्डलको नामको २४८ कित्ता नं. रहेको १० धुर जग्गा मिटरब्याजी साहले समयमै ऋण नदिएको भन्दै पाँच वर्षअगाडि बिक्री गरिदिए । साहले स्थानीय दयानन्द मण्डलाई उक्त जग्गा बिक्री गरेको खुलेको छ । पीडित जानकीदेवी एक वर्षअगाडि आफ्नो जग्गा भोगचलन गर्न जाँदा साहले बिक्री गरेको पत्तो पाएको बताइन् । ‘सम्पत्तिको नाममा तेही एक टुक्रा जग्गा थियो । त्यो पनि मिटरब्याजी साहले बिक्री गरेर खाइदियो । अहिले फुसले छाएको छानोमा पाँच जनाको परिवार गुजारा चलाउँदै आएका छौँ’ पीडित जानकीदेवीले धनीपुर्जा देखाउँदै भनिन्, ‘श्रीमान्को नाममा धनीपुर्जा छ । तर, जग्गा मिटरब्याजी साहले अर्कैलाई बिक्री गरेर खाइदियो । अहिले हामी न्यायको लडाइँमा छौँ ।’

जानकीको जस्तै समस्यामा परेकी छिन् सोही ठाउँकी ५० वर्षीया मीनादेवी मण्डल । बाँसले बेरा बारेर १० धुरमा घर बनाएकी छन् । त्यही १० धुर जग्गा दश वर्षअगाडि दृष्टिबन्धक राखेर सुनिलसँग ४५ हजार रुपैयाँ लिएकी थिइन् । उनले विभिन्न मितिमा सुनिललाई ८० हजार दिइन् । सुनिलले अझै ४ लाख ५० हजार रुपैयाँ दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएको उनले सुनाइन् । ‘सम्पत्तिको नाममा यही एक टुक्रा जमिन छ । तेही जमिनमा सानो छाप्रो हालेर पाँच जनाको परिवार बसेका छौँ’ साढे चार लाख रुपैयाँ नदिए जग्गा खाली गर्ने धम्की मिटरब्याजीले दिने गरेका छन्’ मीनादेवीले भनिन्, ‘अर्काकोमा बनिबुतो गरेर परिवार चलाउने हामी दुःखीले कहाँबाट यत्रो पैसा दिनु ? उनले भनेजति पैसा नदिए जग्गा बिक्री गर्ने धम्की पनि दिने गरेका छन् ।’

मीनादवी र जानकीदेवी उदाहरणमात्र हुन् । विराटनगर–१८ लावाघाटकी ४५ वर्षीया रेखादेवी यादवको सम्पत्ति पनि सुनिलले उसैगरी हडप्ने प्रयास गरिरहेका छन् । यादवले २ कठ्ठा जग्गा धितो राखेर सुनिलसँग २ लाख रुपैयाँ ९ वर्षअगाडि लिएकी थिइन् । उनले ३ लाख रुपैयाँ फिर्ता दिइन् । २ कठ्ठामध्ये १३ धुर जमिन सुनिलले रेखालाई फिर्ता गरिदिए । एक कठ्ठा ७ धुर जग्गा सुनिलले अहिलेसम्म फिर्ता दिएका छैनन् । १२ लाख रुपैयाँ दिएमात्र फिर्ता दिने बताउँदै आएको उनले बताइन् । आफ्नो जग्गा उकास्न अब लाखौँ रुपैयाँ बुझाउनुपर्ने भएपछि यादव परिवार विक्षिप्त छन् ।

प्रशासन उदासिन
विराटनगर–१८ ‘दमादिगी’ गाउँका झण्डै एक दर्जन विपन्न परिवारका सदस्यलाई मिटरब्याजमा ऋण लगानी गर्ने र नदिए उठिबास लगाउने मिटरब्याजी विराटनगरका ५३ वर्षीय सुनिलकुमार साहविरूद्ध पीडितहरुले उजुरी दिएको सोमबार चार दिन भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा ६ जना पीडितहरुले मिटरब्याजी विराटनगर–१८ का साहविरूद्ध गत बिहीबार उजुरी दिएका थिए । साहबाट पीडित भएकाहरु विराटनगर–१८ दमादिगीका ४८ वर्षीय दिलिपकुमार अमात, सोही ठाउँका ६८ वर्षीय महेशलाल मण्डल, ४५ वर्षीया मीनादेवी मण्डल, ४५ वर्षीय रमानन्द मण्डल, ४५ वर्षीय खिकिरीदेवी साह र ४७ वर्षीय नारायण साहले मिटरब्याजी साहविरूद्ध उजुरी दिए । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उजुरी दर्ता गरेपछि आइतबारदेखि पीडित र पीडक भनिएका व्यक्तिलाई कार्यालयमा झिकाएर प्रक्रिया अगाडि बढाउने बताएका थिए । तर, पीडितले उजुरी दिएको चार दिन बितिसक्दा पनि स्थानीय प्रशासनले सोमबारसम्म पीडित र पीडकलाई जिल्लामा ल्याएर छलफलसमेत गराएको छैन ।

यसअघि प्रजिअ भट्टराईले उजुरीका आधारमा आरोपितलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइने बताए । उनले पहिलो चरणमा दुवै पक्षलाई राखेर छलफल गरिने र घटनाको विषयमा थप बुझेर कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए । अहिलेसम्म प्रशासनबाट पनि कुनै पहलकदमी नहुँदा न्याय पाउने आशा हराउँदै गएको पीडित विराटनगर–१८ का रमानन्द मण्डलले बताए । ‘उजुरी दिएको चार दिन भयो । अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । हामीलाई पनि बोलाएर सोधपुछ भएको छैन । पीडकलाई पनि प्रशासनमा ल्याएको छैन । महानगरपालिकाबाट कानूनी सहायता लिएर प्रशासनसम्म उजुरी दियौं । अहिलेसम्म कुनै परिणाम देखिएको छैन’ पीडित मण्डलले भने, ‘अब २–४ दिन पर्खिनेछौं । त्यसपछि पनि कुनै कदम अगाडि नबढे मिटरब्याजबाट पीडित भएकाहरु आन्दोलनमा उत्रिनेछौं ।’

मिटरब्याज पीडितको उजुरीको विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रहरी प्रशासनलाई आरोपितलाई नियन्त्रणमा लिनका लागि आदेश दिइसकेको बताए । पक्राउ परेको आधारमा कारबाही अगाडि बढ्ने जानकारी दिए । मिटरब्याजी साहले ऋण दिएको रकम समयमै नदिएको भन्दै विराटनगर–१८ दमादिगीका दिलिपकुमार महतको १० कठ्ठा जग्गा बिक्री गरिदिएका छन् । दिलिपले चार वर्षअगाडि ६ लाख रूपैयाँ ऋण लिएका थिए । ६ लाखको तीन लाख रूपैयाँ बुझाएका थिए । ढिलो कर्जा तिरेको भन्दै विराटनगर–१८ मा रहेको कित्ता नं. ३१६ र ३१७ को १० कठ्ठा जग्गा बेचिदिए । अहिले २२ लाख रूपैयाँ बुझाएमात्र जग्गा फिर्ता गरिदिने भन्दै आएका छन् । यसैगरी रमानन्द मण्डलले ४ कठ्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्षअगाडि २ लाख रूपैयाँ लिए । उनले १ लाख ८० हजार सुनिललाई सावाँ र ब्याज तिर्दैछन् । उनलाई अझै सुनिलले ८ लाख बुझाएमात्रै ४ कठ्ठा जग्गा फिर्ता दिने बताउँदै आएका छन् । यस्तै नारायण साहले तीन वर्षअगाडि ७ लाख ऋण लिए । उनले अहिलेसम्म ऋणपान गरेर २१ लाख ७ हजार रूपैयाँ तिरेपछि मात्र ६ कठ्ठा जग्गा फिर्ता गरिदिए । अहिले आमा लक्ष्मीदेवी साहको जग्गा फिर्ता लिन उनी लडाइँमा लागेका छन् । नारायणकी ६५ वर्षीया आमाले १७ धुर जग्गा धितो राखेर सुनिलबाट राखेर १ लाख २५ हजार रूपैयाँ ऋण दिएका छन् । लक्ष्मीदेवीले अहिलेसम्म ५५ हजार रूपैयाँ बुझाइसके । सुनिलले अझै ४ लाख ५० हजार रूपैयाँ दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।

यस्तै विराटनगरका महेशलाल मण्डलले सुनिलसँग २०६८ सालमा चार कठ्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रूपैयाँ लिए । उनले ४ लाख ७० हजार रूपैयाँ तिरिसके । अझै १९ लाख ९३ हजार रूपैयाँ बुझाएपछि मात्र जग्गा पास गरिदिने भन्दै आएका छन् । यस्तै खिकिरीदेवी साहले ५ कठ्ठा जग्गा धितो राखेर ७० हजार लिइन् । उनले २ लाख ५० हजार फिर्ता दिइन् । साहले अझै १९ लाख दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।

mitarbyaji2j