धरान र आसपासका स्थानीय उत्पादन, कृषि उपज बेसार, कालो बङ्गुर, तीनपाने, अदुवा, अम्लिसोलाई प्रवर्द्धन गर्दै स्थानीय आर्थिक गतिविधि बढाउन धरानमा आजदेखि सुरु भएको धरान एक्स्पो (पर्यटन, कृषि, सूचना प्रविधि, कला, संस्कृति, शिक्षा, तथा औद्योगिक व्यापार प्रदर्शनी) को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उद्घाटन गरेका छन् ।

कोशी प्रदेश भरिका उद्योगी व्यवसायीलाई आमन्त्रण गरी सुरु गरिएको प्रदेशस्तरीय प्रदर्शनीको मन्त्री किरातीले पानसमा बत्ती बालेर समुद्घाटन गरेका हुन् ।

धरान १६ स्थित रंगशाला परिषरको दक्षिण पट्टी सुरु भएको धरान एक्स्पोमा १५० वटा स्टल रहने छन् । करिब ५ लाख आगन्तुकले एक्स्पोको अवलोकन गर्ने अनुमान गरिएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए । उनका अनुसार एक्सपोमा स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाका उत्पादनहरूलाई समेत प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिने छ ।

सङ्घका अध्यक्ष श्रेष्ठले भने ‘धरान एक्स्पोले धरानको व्यापारी, व्यवसायी, स्थानिय उद्यमीमा नयाँ उत्साह र उपभोक्ता बजारमा चहल पहल ल्याउने हामीले विश्वास गरेका छौँ ।’

एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टलको व्यवस्थापन गरिएको स्टल व्यवस्थापन संयोजक विष्णु बरालले जानकारी दिए ।

सुनसरी उद्योग वाणिज्य सङ्घले आजदेखि आगामी २३ गतेसम्म दोस्रो पटक धरान एक्स्पो आयोजना गरेको हो ।

धरानको व्यापार, व्यवसाय तथा उपभोक्ता बजारमा नयाँ चहल पहल ल्याउने विश्वास गरिएको धरान एक्स्पोमा यसपालि १६ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।

एक्स्पोमा सुनसरीका १२ स्थानका स्थानीय उत्पादनका वस्तु बिक्री वितरण, बजार विस्तार र उपभोक्तालाई चिनाउने उद्देश्य लिइएको छ । सबै वस्तुहरू एक्स्पोमा प्रदर्शनीमा राखिने र विक्री वितरण र कारोबार हुनेछ ।

धरानको आर्थिक गतिविधि चलायमान बनाउन, कोशी प्रदेशका उपभोक्ताहरूलाई स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारका उत्पादन सहज र सुपथ मूल्यमा एक्स्पोले उपलब्ध गराउने बताइएको छ ।

उद्योग वाणिज्य महासङ्घ, सङ्घीय सरकारका निकायहरू, कोशी प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा धरान एक्स्पो आयोजना हुन लागेको हो ।

अध्यक्ष श्रेष्ठले भने ‘धरान डे मा स्टल नपाएर फर्केका हुम्ला, जुम्ला,पोखराका उत्पादनहरू मार्सी चामल दाल भए र सङ्खुवासभाको भिर मौरी अल्लोको सामग्रीहरूलाई एक्स्पोमा स्टल उपलब्ध गराइएको छ ।’

प्रदेशको ऐतिहासिक सहर धरान र सुनसरी जिल्लाको समग्र व्यवसायीक प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना भइरहेको एक्सपोमा स्टल बुकिङ खुला गरिएको छ । उनले भने ‘ एक्स्पो आयोजना गरेर आम्दानी गर्ने भन्दा धरानमा पनि अन्तर्राष्ट्रिय स्तरको एक्सपो आयोजना हुन्छ भन्ने सन्देश दिनु मुख्य उद्देश्य हो ।’

एक्स्पोमा डोम ह्याङ्गरको प्रयोग गरेर स्टलहरू राखिनेछ । डोम भित्र संवेदनशील वस्तुहरूको करिब १०० वटा स्टल हुनेछन् । बाहिर थप अन्य स्टलहरू हुनेछन् । डोममा स्टल राख्दा हावा, पानी, हुरी बतासले पनि कुनै नोक्सानी नहुने भएकोले सुरक्षित हुने सङ्घका अध्यक्ष श्रेष्ठले बताए ।

एक्स्पो अवधिमा विभिन्न गोष्ठीहरू पनि आयोजना हुनेछ । बेरोजगारहरूलाई स्वरोजगार बनाउन फागुन १३ गते स्वरोजगार गोष्ठी गरिने छ । गोष्ठीमा प्रत्येक वडाबाट एक महिला र एक पुरुषलाई सहभागी गराइनेछ ।

सानो लगानीमा व्यवसाय कसरी गर्ने र व्यापार, व्यवसाय कसरी अघि बढाउने भन्ने विषयमा गोष्ठीले प्रशिक्षण दिने बताइएको छ । धरानका होटेल, ट्याम्पो, बस व्यवसायीहरूलाई समेत समेटेर पर्यटन गोष्ठी पनि गरिने अध्यक्ष श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले भने ‘एक्स्पोका बीच धरानमा खानेपानीको समस्या तत्काल समाधान गर्ने उपाय र साधन स्रोत जुटाउने विषयमा विशेष परामर्श गोष्ठी आयोजना गरिने छ ।’

एक्स्पोमा हरेक साँझ मनोरञ्जनात्मक साङ्गतिक कार्यक्रम, सांस्कृतिक प्रतियोगी आयोजना हुनेछ । हरेक दिन नेपालका चर्चित कलाकारहरूको कन्सर्ट आयोजना गरिने छ ।

त्यसको लागि एक्स्पो समय बिहान देखि साँझ ४ बजे सम्म प्रवेश निःशुल्क रहने तर साँझ ५ बजे देखि प्रवेश टिकट १०० देखि २०० रुपैयाँ सम्म लाग्ने छ ।

सुनसरी उद्योग वाणिज्य संघको अयोजनामा सुरु एक्स्पोमा विशेष सहयोगी नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, कोशी प्रदेश, प्रदेश सरकार, पर्यटन, व कोशी प्रदेश, प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रबन्ध केन्द्र वन तथा वातावरण मन्त्रालय रहेका छन् । प्रवर्द्धकमा जिल्ला समन्वय समिति, सुनसरी, नेपाल उद्योग वाणिज्य महासथ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल, नेपाल पर्यटन बोर्ड, धरान उप–महानगरपालिका छन् ।