स्थानीय उत्पादनको प्रवर्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउन, अर्थतन्त्र चलायनमान बनाउन तथा नयाँ प्रविधिबारे जानकारी दिनु धरान एक्स्पो तथा महोत्सवको मुख्य उद्देश्य हो । एक्स्पो नाफामुखी नभएर प्रवर्धनात्मक भएको व्यहोरा म निवेदन गर्न चाहन्छु । एक्स्पोलाई प्रत्यक्ष खरिद बिक्रीका लागि मात्र नभई यसलाई व्यावसायिक सम्बन्ध विस्तार गर्ने, व्यवसायिक सम्झौताहरू गर्ने, संयुक्त लगानी आकर्षण गर्ने, व्यावसायिक सहकार्यलाई थालनी गर्ने अवसरको रूपमा लिन हुन समेत म आग्रह गर्दछु ।

धरानमा स्तरीय प्रदर्शनी स्थल निर्माणका लागि यस संघले सम्बन्धित निकायमा अनुरोध गर्दा पनि त्यसले मूर्तरुप नपाएको र स्थायी प्रदर्शन स्थल नहुँदा स्थानीय उत्पादनलाई प्रवर्धन गर्न कठिनाइ भइरहेको म यस कार्यक्रममार्फत् माननीय मन्त्रीज्यू समक्ष जानकारी गराउन चाहन्छु । साथै एक्स्पो सञ्चालन गर्ने निकाय धेरै भएको र एक्स्पो सञ्चालन गर्ने नाउँमा विकृति बढ्दै गएकाले यसको साख खस्कँदो क्रममा छ । यसको साख बढाउन र व्यवस्थित सञ्चालनको जिम्मेवारी उद्यमी व्यवसायीका संघ–संस्थालाई मात्र दिन म सम्बन्धित निकायमा अनुरोध समेत गर्दछु ।

नागरिकहरु यतिबेला आर्थिक समृद्धि, समतामूलक समाज निर्माण, रोजगारी र सुशासनको पर्खाइमा रहेका छन् । नागरिकहरुका असीमित चाहना एकै दिनमा पूरा गर्न कठिन भए पनि विकास निर्माणमा जुन द्रुतगति आवश्यक थियो, त्यसो नहुँदा जनतामा निराशा छाएको छ । पछिल्लो समय देखिएको दक्ष युवा शक्तिको पलायन र नागरिकहरुको निराशालाई बेलैमा सम्बोधन गर्न नसकिए देश बृद्धहरुको बासस्थानमा बदलिने हो कि भन्ने चिन्ता थपिएको छ, । यसका लागि आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न तथा सुशासन कायम गराउनको निम्ति राजनीनिक नेतृत्व अलिकति बढी गम्भीर बन्नैपर्ने देखिएको छ ।

समग्रमा भन्दा अहिले उद्योग व्यवसायको क्षेत्र धर्मराएको अवस्थामा छ । यो परिस्थितिमा एक्स्पोको आयोजनाबाट उद्योग व्यवसायले भोगिरहेको आर्थिक मन्दी, उद्योग व्यवसायमा देखिएको शिथिलतालाई केही मात्रामा भएपनि चलायमान बनाउन सहयोग पुग्ने हामीले ठानेका छौं ।

उद्योग व्यवसाय र समग्र अर्थतन्त्र नै सुस्तता छाएकोप्रति यहाँहरु सबै जानकार हुनुहुन्छ । त्यसलाई भोगिरहनु भएको छ । यस परिस्थितिमा एक्स्पोको आयोजनाबाट थोरै भएपनि उद्योग व्यवसाय र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने हाम्रो अपेक्षा छ । हाम्रा उद्यमी व्यवसायीमा उत्साह छैन । बजारमा माग घटेको छ । आफूले दिएको उधारो उठाउन सकेका छैनन् । बैंकबाट ऋण लिएर उद्योग व्यवसाय विस्तार गर्ने, नयाँ उद्योग व्यवसायको सिर्जना गर्ने कार्यमा निजी क्षेत्रमा त्रास रहेको छ । निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगहरु अत्यन्त थोरै मात्रामा मात्र सञ्चालन गरी जेनतेन टिकिरहेको अवस्था छ । 

समग्रमा भन्दा अहिले उद्योग व्यवसायको क्षेत्र धर्मराएको अवस्थामा छ । यो परिस्थितिमा एक्स्पोको आयोजनाबाट उद्योग व्यवसायले भोगिरहेको आर्थिक मन्दी, उद्योग व्यवसायमा देखिएको शिथिलतालाई केही मात्रामा भएपनि चलायमान बनाउन सहयोग पुग्ने हामीले ठानेका छौं ।

देशले नयाँ संविधान पाई सबै तहमा सरकार निर्माणका प्रकृया समेत सम्पन्न भइसकेको भएता पनि आर्थिक स्थिरताको वातावरण सिर्जना भएको हामीले महशुस गर्न सकेको छैनौं । जसबाट आर्थिक क्रान्ति एवं आर्थिक समृद्धिको बाटोमा लाग्ने अवस्थाको सङ्केत हालसम्म देखिएको छैन । तसर्थ आर्थिक समृद्धिका लागि नेपाल सरकार, सम्पूर्ण राजनितिक दलहरु, सबै तहका जनप्रतिनिधिहरु, नागरिक समाज तथा आम समुदायमा आर्थिक विकासका लागि ‘अबको एजेण्डा देशको समग्र विकास आर्थिक समृद्धिबाट मात्र’ भन्ने साझा अवधारणा बनाई समृद्ध नेपालको स्थापना गर्न म सबैमा हार्दिक आग्रह गर्न चाहन्छु ।

धार्मिक पर्यटकीय क्षेत्रहरुलाई परिचित गराई पर्यटन प्रवर्धनका लागि प्रख्यात विष्णुपादुका– बराहक्षेत्र–पाँचकन्या– रामधुनी क्षेत्रलाई जोड्ने र सम्पर्क स्थापित गर्ने लिङ्क रोडको रुपमा धार्मिक पर्यटकीय मार्गको रुपमा योजना विकासका लागि आवश्यक सहयोगका साथै धरान बजारको विकासका लागि हाल चर्चामा रहेको धरान सुरुङ मार्ग, निर्माणाधीन अवस्थामा रहेको तमोर करिडोर मार्ग र मदन भण्डारी राजमार्गको निर्माण कार्य प्राथमिकताका साथ सञ्चालनका लागि विशेष पहल गर्न आजका प्रमुख अतिथिज्यू समक्ष म हार्दिक अनुरोध गर्दछु ।

माननीय मन्त्री प्रमुख अतिथिज्यू तथा उपस्थित महानुभावज्यूहरु

धरानको पर्यटनको उत्कृष्ट गन्तव्य धार्मिक पर्यटन नै हो र आधार पनि यही हो । अहिलेसम्मका पर्यटनलाई विश्लेषण गर्दा लाखौं पर्यटक यही क्षेत्रले आकर्षित गरेको छ ।

धार्मिक पर्यटक वराहक्षेत्र र विजयपुर क्षेत्र आउने गर्छन् । विजयपुर क्षेत्रलाई शास्त्रमा रुद्राक्षरण्य अर्थात् रुद्राक्ष भएको जङ्गलको रूपमा दर्शाइएको छ । भगवान् शिवको आँशुबाट उत्पन्न रुद्राक्ष साक्षात भगवानको रूप हो भन्ने विश्वास विश्व बजारमा लगिएमा कडारी हिन्दूहरू यो क्षेत्रको भ्रमण र रुद्राक्ष खरिद गर्न आउनेछन् । यसको प्रवर्धन तथा विकासका लागि कार्य गर्नु पर्ने आवश्यकता छ । 

त्यसैगरी धरान बहुभाषिक र बहुजातीय सहर भए पनि पछिल्लो समयमा जनजातिहरूको बाहुल्यता बोकेको सहर हो । तसर्थ जनजातिहरूका सांस्कृतिक रहनसहनदेखि तिनका चाडपर्व, भेषभूषा र भोजन आदि सांस्कृतिक पर्यटनका अरु उत्पादन हुन् । लिम्बूको धाननाच, च्याब्रुङ नाच, राईको साकेला नाच, नेवारको लाखे नाच पर्यटकका लागि प्रमुख आकर्षण हुन सक्छन् । यी हाम्रा सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै सांस्कृतिक पर्यटनको रूपमा रूपान्तरण गर्न जरुरी छ ।

धरानदेखि भेडेटारसम्मको विविधता, तमोर भ्याली र यसको जलाधार क्षेत्र थप आकर्षण हुन् । यसको विकासका लागि माननीय मन्त्रीज्यू समक्ष अनुरोध गर्दछु ।

धरानलाई गुणात्मक शिक्षा प्रदान गर्ने थलोको रूपमा थप विकसित गरी धरानमा रहेको केन्द्रीय प्रविधि क्याम्पस, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, इञ्जिनियरिङ कलेज, संस्कृत महाविद्यालयलाई स्तरोन्नति गरी धरानलाई शिक्षा आर्जनको उत्कृष्ट गन्तव्य बनाउनुपर्दछ ।

धरान क्षेत्रमा रहेको चारकोसे जङ्गल, सामुदायिक वन र त्यसभित्र रहेका पार्क अनि धरान नगरपालिकाले बनाउँदै गरेको सप्तरङ्गी पार्क, सर्दू जलाधर क्षेत्र, पञ्चकन्या जङ्गल क्षेत्र र त्यहाँ रहेको भताभुङ्गे राजाको दरबार पर्यटकका लागि आकर्षण हुन सक्छन् । धरानदेखि भेडेटारसम्मको विविधता, तमोर भ्याली र यसको जलाधार क्षेत्र थप आकर्षण हुन् । यसको विकासका लागि माननीय मन्त्रीज्यू समक्ष अनुरोध गर्दछु ।

धरान खेलप्रेमी र खेलाडी उत्पादन गर्ने सहर पनि हो । खेल र खेलाडीप्रति धरानको अगाध प्रेम छ । तसर्थ धरानमा अन्तर्राष्ट्रिय खेल खेलाउन सक्ने पूर्वाधार तयार भइरहेको र स्तरीय गल्फ कोर्ट, बुढासुब्बा गोल्डकपलाई स्तरोन्नतिका लागि आवश्यक कार्य गर्न अनुरोध गर्दछु ।

– सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठद्वारा धरान एक्सपोको उद्घाटनका सन्दर्भमा व्यक्त विचार