विराटनगर । विराटनगर–१८ ‘दमादिगी’ गाउँका झण्डै एक दर्जन आर्थिक विपन्न परिवारका सदस्यलाई मिटरब्याजमा ऋण लगानी गर्ने र नदिए उठिबास लगाउने मिटरब्याजी विराटनगरका ५३ वर्षीय सुनिलकुमार साहविरुद्ध पीडितहरूले उजुरी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा ६ जना पीडितहरूले मिटरब्याजी विराटनगर–१८ का साहविरुद्ध उजुरी दिएका हुन् । साहबाट पीडित भएकाहरू विराटनगर–१८ दमादिगीका ४८  वर्षीय दिलिपकुमार अमात, सोही ठाउँका ६८ वर्षीय महेशलाल मण्डल, ४५ वर्षीया मीनादेवी मण्डल, ४५ वर्षीय रमानन्द मण्डल, ४५ वर्षीया खिकिरीदेवी साह र ४७ वर्षीय नारयण साहले मिटरब्याजी साहविरुद्ध उजुरी दिएका छन् । पीडितहरूले जग्गा फिर्ता गरी मिटरब्याजमा ऋण लगानी गरी गरिबलाई उठिबास लगाउनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित प्रशासनमा उजुरी दर्ता गराएको विराटनगर महानगरपालिकाकी कानून शाखाकी प्रमुख शारदा थपलियाले बताइन् ।

‘पीडितहरूले महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि यहाँको क्षेत्राधिकारभित्र नपरेपछि उपप्रमुखज्यूको पहलमा मोरङ प्रशासनमा उजुरी दिइएको हो’ उनले भनिन्, ‘अहिले उजुरी दर्ता भएको छ । थप प्रक्रिया अगाडि बढाउने प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ ।’

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उजुरी दर्ता भएकोले थप प्रक्रिया अगाडि बढाउने बताए । ‘आइतबादेखि प्रक्रिया अगाडि बढ्छ’ उनले भने, ‘पहिलो चरणमा दुवै पक्षबीच छलफल हुनेछ । छलफलबाट सहमति भए उजुरीको प्रक्रिया टुङ्गिन्छ’ उनले भने, ‘नभए जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी पठाइन्छ र थप अनुसन्धानपछि कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ ।’

मिटरब्याजी साहले ऋण दिएको रकम समयमै नदिएको भन्दै दिलिपकुमार महतको १० कठ्ठा जग्गा बिक्री गरिदिएका छन् । दिलिपले चार वर्षअगाडि ६ लाख रुपैयाँ ऋण लिएका थिए । ६ लाख ऋणको तीन लाख रुपैयाँ बुझाएका थिए । ढिलो कर्जा तिरेको भन्दै विराटनगर–१८ मा रहेको कित्ता नं. ३१७ र ३१६ को १० कठ्ठा जग्गा बेचिदिए । अहिले २२ लाख रुपैयाँ बुझाए मात्र जग्गा फिर्ता गरिदिने भन्दै आएका छन् ।

यसैगरी रमानन्द मण्डलले ४ कठ्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्षअगाडि २ लाख रुपैयाँ ऋण लिए । उनले १ लाख ८० हजार सुनिललाई सावाँ र ब्याज तिर्दैछन् । उनलाई अझै सुनिलले ८ लाख बुझाएमात्रै ४ कठ्ठा जग्गा फिर्ता दिने बताउँदै आएका छन् । यस्तै नारायण साहले तीन वर्षअगाडि ७ लाख ऋण लिए । उनले अहिलेसम्म ऋणपान गरेर २१ लाख ७ हजार रुपैयाँ तिरेपछि मात्र ६ कठ्ठा जग्गा फिर्ता गरिदिए । अहिले आमा लक्ष्मीदेवी साहको जग्गा फिर्ता लिन उनी जोडतोडले लागेका छन् । नारायणकी ६५ वर्षीया आमालाई १७ धुर जग्गा धितो राखेर सुनिलले १ लाख २५ हजार रुपैयाँ ऋण दिएका छन् । लक्ष्मीदेवीले अहिलेसम्म ५५ हजार रुपैयाँ बुझाइसके पनि सुनिलले अझै ४ लाख ५० हजार रुपैयाँ दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।

यस्तै विराटनगरकै महेशलाल मण्डलले सुनिलसँग २०६८ सालमा चार कठ्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ ऋण लिए । उनले ४ लाख ७० हजार रुपैयाँ तिरिसके पनि अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा फिर्ता पास गरिदिने भन्दै आएका छन् । यस्तै खिकिरीदेवी साहले ५ कठ्ठा जग्गा धितो राखेर ७० हजार ऋण लिइन् । उनले २ लाख ५० हजार तिरिन् । साहले अझै १९ लाख दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।