विराटनगर । विराटनगर महानगरपालिकाभित्र व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठूला करदाताले करोडौं रुपैयाँ कर बुझाउन आलटाल गरेको पाइएको छ ।

महानगरपालिकाका अनुसार ठूला करदाताबाट दुई करोडभन्दा बढी उठाउन बाँकी रहेको छ । महानगरलाई एक लाखदेखि एक करोड रुपैयाँसम्म कर बुझाउन बाँकी रहेकामा होटल, सिटी सेन्टर, पार्टी प्यालेस र विभिन्न सङ्घ–संस्था रहेका छन् । पवन राठीले विराटनगर–९ मा सञ्चालनमा ल्याएको सिटी प्यालेसले एक करोडभन्दा बढी घरबहाल र सम्पत्ति कर बुझाउनुपर्ने देखिएको छ ।

सिटी प्यालेसले स्थापना भएदेखि हालसम्म महानगरलाई कर नबुझाएको महानगरले जनाएको छ । सिटी प्यालेस दुई वर्षअगाडिदेखि सञ्चालनमा रहेको छ । विराटनगर बसपार्कस्थित रत्ना होटलले १७ लाख ५३ हजार २ सय ७३ रुपैयाँ कर तिरेको छैन । रत्ना होटलले व्यावसायिक कर ६ लाख र सम्पत्ति कर ११ लाख ५३ हजार २ सय ७३ रुपैयाँ महानगरपालिकालाई तिर्नुपर्ने देखिएको हो ।

यसैगरी हिमालय टाकिज प्रा.लि.ले ४१ लाख रुपैयाँ कर तिर्नुपर्ने महानगरको अभिलेखमा देखिन्छ । समयमै कर नतिर्नेमा बिग होटलले छ लाख ८८ हजार ९७ रुपैयाँ सम्पत्ति कर र तीन लाख ८० हजार रुपैयाँ व्यावसायिक कर तिर्नुपर्ने देखिन्छ । समयमै कर नबुझाउने ठूला करदाताहरूको फोहोर सङ्कलन नगर्ने महानगरपालिकाले निर्णय गरेको चार दिनपछि बिग होटलले १० लाख रुपैयाँ कर तिरेको जनाएको छ । बिगले अझै १० लाख ६८ हजार ९७ रुपैयाँ कर तिर्न बाँकी छ ।

महानगरपालिकाभित्र ६६ हजार २ सय ३२ जना करदाता रहेका छन् । जसमध्ये ४८ हजार ६ सय ७५ जना करदाताहरूले १३ करोड ४५ लाख ९५ हजार ३ सय ७७ रुपैयाँ ५० पैसा कर बुझाउनु पर्ने देखिएको विराटनगर महानगरपालिकाका राजस्व प्रमुख सरोजकुमार गौतमले बताए । अघिल्लो आर्थिक वर्षमा ३८ हजार नौ सय ३८ जना करदाताहरूले २२ करोड १२ लाख १३ हजार ८० रुपैयाँ कर तिरेको महानगरपालिकाको अभिलेखमा देखिन्छ । ‘ठूला र सचेत करदाताहरूले नै कर नतिर्ने विडम्बनापूर्ण अवस्था महानगरले व्यहोरिरहेको छ, हामीले पटक–पटक ताकेता गरेका छौँ’ उनले भने, ‘तर, पनि उहाँहरू कर तिर्न चासो देखाउनुहुन्न ।’

आठ महिनामा २७ करोड कर सङ्कलन
चालु आर्थिक वर्षको फागुन ८ गतेसम्म महानगरपालिकाले २७ करोड बढी कर सङ्कलन गरेको छ । ८९ करोड कर उठाउने लक्ष्य लिएको महानगरपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा २७ करोड ४० लाख ७० हजार एक सय ९५ रुपैयाँ २५ पैसा कर सङ्कलन गरेको महानगरपालिकाका राजस्व प्रमुख गौतमले जानकारी दिए । जसमध्ये सबैभन्दा बढी एकीकृत कर आठ करोड आठ लाख ८८ हजार ६ सय ६३, व्यावसायिक कर तीन करोड ६६ लाख ५९ हजार एक सय ८४, बहाल कर ५ करोड २ लाख ८४ हजार ९६ रुपैयाँ सङ्कलन गरेको छ । यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर एक करोड १५ लाख ५ हजार ४ सय १० रुपैयाँ, नक्सापास दस्तुरबाट एक करोड २१ लाख १८ हजार ७ सय ५८, अन्य दस्तुरबाट एक करोड ३३ लाख तीन हजार ३ सय ९० रुपैयाँ सङ्कलन भएको अभिलेखमा देखिन्छ ।

फोहोर नउठाएपछि उठ्न थाल्यो कर
ठूला करदाताहरूले कर नबुझाएपछि महानगरले फोहोर सङ्कलन नगर्ने निर्णय गरेपछि कर उठ्न थालेको छ । माघ २१ मा विराटनगर महानगरपालिकाले नौवटा ठूला करदाताको फोहोर नउठाउने निर्णय गरेको थियो । उनीहरूबाट मात्रै दुई करोड बढी कर उठ्नुपर्ने देखिएको छ । जसमा विराटनगर– ११ को होटल रत्ना र क्यासिनो, विराटनगर–९ को हिमालय टाकिज प्रा.लि., सिटी पार्टी प्यालेस, बिग होटल, सप्तकोशी नर्सिङ होम, विराटनगर–७ को होटल शोभा इन, सञ्जीवनी हस्पिटल, मोरङ व्यापार सङ्घ र जैन भवनको महानगरपालिकालाई कर तिरेको छैन । उनीहरूको फोहोर नउठाउने निर्णय भएपछि बिग होटल, हिमालय हल, होटल शोभा, सप्तकोशी नर्सिङ होमले कर बुझाएको महानगरको भनाइ छ । जैन भवन र मोरङ व्यापार सङ्घले तिर्नुपर्ने कति कर हो भन्ने अभिलेखमा देखिएको छैन ।

१६ दिनमा उठ्यो एक करोड
१६ दिनमा एक करोड बढी कर सङ्कलन भएको महानगरपालिकाले जनाएको छ । माघ २० देखि फागुन ६ गतेसम्म सम्पत्ति कर ५१ लाख ६४ हजार ५३, भूमि कर ४ लाख २७ हजार ७ सय ७, घरबहाल कर २९ लाख ३ हजार ३ सय २६ र व्यवसाय कर २५ लाख ७६ हजार २ सय ५० रुपैयाँ कर सङ्कलन भएको महानगरको अभिलेखमा देखिन्छ । ठूला करदातालाई अनुगमनको दायरामा ल्याउन समन्वय, छलफल र पत्राचार गरेर कर सङ्कलन गरिएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बताए । ‘कतिपय सम्पर्कमा आउनुभएको छ भने केहीले अझै आलटाल गरिरहेका छन् । उहाँहरूलाई पनि करको दायरामा आउन हामीले पत्राचार गरेका छौँ । कर तिर्नुभएन भने उहाँहरूलाई नै पछि अप्ठ्यारो पर्ने हो । स्थानीय तहको अपहेलना गरेको ठहरिन्छ’–प्रमुख कोइरालाले भने ।