धरानमा आविष्कार केन्द्र स्थापना गर्ने घोषणा गरेका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले आज ‘रेसिङ कार’ ‘गो–कार्ट’ को परीक्षण गरेका छन् । 

उनले ब्याट्रीबाट चल्ने र पेट्रोल इन्जिनबाट चल्ने दुई ‘गो–कार्ट’ हाँकेर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीलाई हौसला प्रदान गरे । उनले आगामी दिनमा निर्माण हुने ‘गो–कार्ट’ लाई आर्थिक प्रोत्साहन गर्नेसमेत घोषणा गरे ।    

नगर प्रमुख साम्पाङले इन्जिनियरिङ क्याम्पसमा मेकानिकल इन्जिनियरिङ अध्ययन गर्ने तेस्रो वर्ष, छैठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको ‘गो–कार्ट’ चलाउँदै स्थानीय सरकारले आविष्कार र नवप्रवर्तनको क्षेत्रमा काम गर्न चाहेको बताए । यसअघि उनले आविष्कार केन्द्र निर्माणका लागि इन्जिनियरिङ क्याम्पससँग सम्झौतासमेत गरेका थिए ।

मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरु मिलन वन, सुनिल बुढाथोकी, नारायण खनाल, मौसम विष्टलगायतले निर्माण गरेको गो–कार्ट तीनकुनेस्थित क्याम्पसबाट नगरपालिकासम्म चलाएर प्रदर्शन गरिएको विद्यार्थी प्रज्ज्वल राईले जानकारी दिए । उनले नगरप्रमुखले विद्यार्थीलाई हौसला प्रदान गरेको र सहयोगको प्रतिबद्धतासमेत गरेको बताए । 

go-cart harka sampang news

हाल विद्यार्थीले एउटा ब्याट्रीबाट चल्ने विद्युतीय गो–कार्ट र तीन वटा पेट्रोलबाट चल्ने कार्ट निर्माण गरेका छन् । ‘सोसाइटी अफ मेकानिकल इन्जिनियरिङ स्टुडेण्टस’को संयोजनमा करिव ५० जनाको सामुहिक प्रयासले गो–कार्ट तयार गर्न सफल भएको विद्यार्थी राईले जानकारी दिए । 

पुराना सामग्रीको प्रयोगबाट १ लाख बढी रुपैयाँको लागतमा निर्माण गरिएको ‘गो कार्ट’ ले प्रतिलिटर २५ किलोमिटर माइलेज र औसत गति प्रति घण्टा ५० किलोमिटर दिन्छ । पुरानो मोटर साइकलको इन्जिन प्रयोग गरी ‘गो–कार्ट’ निर्माण गरिएको हो ।

इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले धरानमा पहिलो पटक निर्माण गरेको ‘गो कार्ट’ ले गत ०७९ पुस २६ मा पुलचोक इन्जिनियरिङ क्याम्पसमा आयोजना भएको विज्ञान प्रविधि प्रदर्शनी ‘मेट्रिक्स’ दोस्रो स्थान प्राप्त गरेको थियो । 

‘आर्थिक सहयोगको अभावका कारण अध्ययन अनुसन्धानमा अनुकूलता नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् । उनीहरुले ‘स्पोन्सर’को खोजी गरिरहेको समेत बताए ।