धरान । ‘हिसान एन्फा सुनसरी कप’ फुटबल प्रतियोगिताको उपाधि इटहरीको विश्व आदर्श कलेजले जितेको छ ।

धरानको एन्फा एकेडेमीको खेल मैदानमा मङ्गलबार सम्पन्न खेलमा विश्व आदर्शले धरान आदर्शलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै विश्व आदर्शले नगद २० हजार रुपैयाँसहित रनिङ ट्रफी प्राप्त गरेको छ । विश्व आदर्शका लागि निरज कट्वाल, अनुप सेमिहाङ र अङ्कित चौधरीले गोल गर्दा धरान आदर्शबाट एकमात्रै सान्त्वना गोल विनम तामाङले गरे ।

प्रतियोगितामा उपविजेतामा सीमित धरान आदर्शले नगद १५ हजार रुपैयाँसहित प्रमाण–पत्र प्राप्त गरेको हिसान स्पोर्टस् मिटका मूल संयोजक हेमन्त भण्डारीले जानकारी दिए । उनका अनुसार यसपटक देखि हिसानले एन्फासँग मिलेर प्रतियोगिता सुरु गरेको हो ।

प्रतियोगितामा बेस्ट गोलकिपरमा विश्व आदर्शका सोहन श्रेष्ठ, बेस्ट डिफेन्डरमा धरान आदर्शका रूपेश भुजेल, बेस्ट मिडफिल्डरमा विश्व आदर्शका निरज कट्वाल, बेस्ट फरवार्डमा धरान आदर्शका प्रवेश खड्का, सर्वाधिक गोलकर्तामा विश्व आदर्शका अनुप सेमिहाङ र सर्वोत्कृष्ट खेलाडीमा विश्व आदर्शका प्रतीक चौधरी घोषित हुँदै टूफी र मेडल पाए । यस्तै बेस्ट प्रशिक्षकमा विश्व आदर्शका प्रताप ठकुरी घोषित भए ।

प्रतियोगितामा विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रदेश अध्यक्ष किशोर राई, हिसानका केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरे, हिसान कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष गणेश दुलाल, हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराईलगायतले पुरस्कार वितरण गरे ।

माघ १५ गतेदेखि सुरु भएको १०औँ हिसान स्पोर्टस् मिटअन्तर्गत फुटबल प्रतियोगितामा धरानका ७ र इटहरीका ११ सहित १८ टिम सहभागी रहेका थिए । प्रतियोगिता धरान र इटहरीमा भए पनि सेमिफाइनल र फाइनल खेल धरानमा गरिएको थियो । रनिङ ट्रफीको प्रायोजक भने इटहरीको नमुना कलेज रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा खेलाडीहरू पनि छनोट गरिने तयारी गरिएको छ ।