प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा चौतारी सुनसरीले मिडियाको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा अन्तर्क्रिया
आयोजना गरेको छ ।

अन्तर्क्रियामा मिडिया उद्योगको अवस्था र चुनौती, श्रमजीवी पत्रकारको अवस्था, स्वरोजगार मिडिया र अनौपचारिक मिडियाको सूचनामा प्रभाव र आमजनमानसको विश्वसनीयता र मिडियामा देखिएको सङ्कटबारे छलफल गरिएको थियो ।

वर्तमान अवस्थामा मिडियाका चुनौती र सम्भावनाका विषयमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमा मिडिया धरासायी हुँदै गएको तथ्य प्रस्तुत गरेका थिए । कार्कीले मिडिया सङ्कट, चुनौती र सम्भावना विषयमा कार्यपत्र प्रस्तुत गर्दै  ८० प्रतिशत मिडिया सङ्कटमा रहेको र धेरै पत्रकारले जागिर गुमाएको तथ्य प्रस्तुत गरेका थिए ।

अन्तर्क्रियामा चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराईले अनौपचारिक सूचनाका माध्यमका कारण मूल धारका मिडिया खुम्चनु परेको उल्लेख गरेका थिए । मिडियाले अडियन्समा आफ्ना सामग्री प्रस्तुत गर्न अबका दिनमा सन्चारका सबै माध्यम प्रयोग गर्नुपर्ने उल्लेख गरे । उनले वर्तमान युग कृत्रिम बौद्धिकता (एआई) को चरणमा प्रवेश गरिसकेकाले मिडियाले नयाँ प्रविधिको आत्मसात गर्नुपर्नेमा जोड दिए । 'डिजिटल मिडिया' जोड दिन मिडियाकर्मी र सन्चारगृहलाई आग्रह गरे ।

प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालले पत्रकारले पेशागत मर्यादा राख्नुपर्नेमा जोड दिए । उनले नातावाद, आफन्त र दललगायतको प्रभावबाट मूक्त भई  कार्यक्षेत्रमा पत्रकारिताको आचरण अनुसार काम गर्नुपर्ने बताए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रेस चौतारी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज विक्रम लुइँटेलले मिडियामा देखिएको सङ्कटमा पत्रकार स्वयम् पनि जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए । 

अन्तर्क्रियामा प्रस्तुत कार्यपत्रमाथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, प्रेस सेन्टरका उपमहासचिव राजन केडी, प्रेस युनियन सुनसरी अध्यक्ष ध्रुव ढकाललगायतले टिप्पणी गरेका थिए । 

मिडियामा रुपान्तरण आवश्यक: नेता गौतम
प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा जिल्ला कमिटी सुनसरीले आयोजना गरेको अन्तर्क्रियामा प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले प्रविधि र समयको बदलावअनुसार मिडिया क्षेत्रमा रुपान्तरणको आवश्यक्ता औंल्याए ।

तीनै तहका सरकारले समानुपातिक विज्ञापन नीति लागू गरे  मिडिया स्थायित्वको आधार तयार हुने धारणा राखेका थिए । उनले यसका लागि कानुन सच्याउनु पर्ने र आवश्यक ठाउँमा निर्माण गर्नुपर्नेमा जोड दिए ।

एमाले कोशी प्रदेश प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले डिजिटल मिडियाको अवधारणामा मिडिया हाउस अघि बढ्नुपर्ने धारणा राखे । एमाले कोशी प्रदेशका सचेतक तथा सांसद रेवतीरमण भण्डारीले युग सुहाउँदो मिडिया सन्चालनमा जोड दिए । उनले मिडिया क्षेत्रको विकासमा सरकार संवेदनशील भएर सहयोग गर्नुपर्ने बताए ।

अन्तर्क्रियासँगै वनभोज
चौतारीले आयोजना गरेको अन्तर्क्रियासँगै वनभोज कार्यक्रममा पेशागत संघसंगठन र सामाजिक, राजनीतिक संगठनका व्यक्तित्वहरुलाई आमन्त्रण गरेको थियो ।

आमन्त्रित अतिथिलाई स्थापना दिवसको अवसरमा वनभोज कार्यक्रम राखेर शुभकामना आदानप्रदान गरेको अध्यक्ष शुभद्रा प्याकुरेलले जानकारी दिइन् ।

अन्तर्क्रियासँगै वनभोज कार्यक्रमसमेतको आयोजना गरेको सुनसरी चौतारीले संगठनलाई थप चलायमान बनाउन सिर्जनात्मक गतिविधि आयोजना गर्न प्रतिबद्ध रहेको सचिव विकल पौडेलले बताए ।

अन्तर्क्रिया तथा वनभोज कार्यक्रममा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम, मन्जु भण्डारी, एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, अग्रज पत्रकार कृष्णविनोद लम्साल, प्रेस चौतारी केन्द्रीय सदस्य सन्तोष काफ्ले, अनुशासन विभाग सदस्य त्रिलोचन पौडेल, विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, प्रेस युनियन, प्रेस सेन्टरलगायतका पत्रकारको आतिथ्य रहेको थियो भने चौतारीका प्रदेश, जिल्ला र नगर कमिटीमा अवद्ध सन्चारकर्मीको उपस्थिति रहेको थियो ।