विराटनगर । भारततर्फ तस्करी हुन लागेको गाँजासहित प्रहरीको सहायक हवल्दार ३६ वर्षीय रविन्द्र चौधरीसहित चार जना पक्राउ परेका छन् ।

प्रहरी तालिम केन्द्र रानी विराटनगरका सहायक हवल्दार चौधरीसहित विराटनगरका तीनजना युवा सोमबार बिहान विराटनगर–१० तीनटोलियास्थित गुराँस टोलबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चौधरीसहित विराटनगर–१३ सैनिक टोलका २२ वर्षीय राम अवतार साह, विराटनगर–१६ बर्माटोलका २३ वर्षीय राजकुमार मण्डल र २० वर्षीय उमेश राजवंशी छन् ।

उनीहरूमध्ये रामअवतार साहले विराटनगर–१० गुराँस टोलमा एक हप्ताअगाडी मात्रै कोठा भाडामा लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मोरङ प्रहरीका डिएसपी रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेका साहले एकहप्ताअगाडि मात्रै कोठा भाडामा लिएको बताएका हुन् ।

पक्राउ परेका विराटनगरका तीन युवासँगै बारा कोल्बी नगरपालिका–९ स्थित श्रीपुर घर भई प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी सहायक हवल्दार चौधरीको योजनामै कोठा भाडामा लिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरूले गाँजा आफ्नो नभएको बताउँदै आएका छन् । डिएसपी दाहालले भने, ‘थप विषय अनुसन्धानपछि खुल्नेछ तर, कोठा भाडामा लिएको एकहप्ता मात्रै भएको बताइएको छ ।’ साहले आफू कन्स्ट्रक्सनको काम गर्ने भएकोले कोठा भाडामा लिएको दाबी गरेका छन् ।

साहले भाडामा लिएको कोठाको पछाडिपट्टि घाँसको झ्यासमा गाँजा लुकाएर राखिएको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरीका डिएसपी महेन्द्रविक्रम केसीको कमाण्डमा खटिएको टोलीले छापामारेको थियो । छापामार्ने क्रममा गाँजा, नेपाली र भारतीय नगद, सवारी साधनसहितका वस्तुसमेत बरामद गरिएको हो ।

सशस्त्र प्रहरीले साहले कोठा भाडामा लिएको घर कम्पाउण्डबाट १ सय २१ केजी गाँजासमेत बरामद गरेर आवश्यक अनुसन्धानका लागि मोरङ प्रहरीलाई बुझाएको हो । उनीहरूको साथबाट मोबाइल पाँचथान, नेपाली एकलाख ४५ हजार ७० रुपैयाँ, भारतीय ५ सयको नोट, प्रदेश १–०२–०४४ प १४८५ नं. को मोटरसाइकल १ थान, को.२ च १२१६ नम्बरको भेन थान एकसमेत बरामद गरेको छ ।