बिर्तामोड । अर्जुनधारा–६ मा एकसाताअघि एक महिलाको हत्या गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका–८ गरामनीका चन्द्रप्रसाद प्रसाईंलाई पक्राउ गरेको छ । प्रहरीले प्रसाईंलाई आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय अनारमनीमा आइतबार पत्रकार सम्मेलन गरेर अभियुक्त प्रसाईंलाई सार्वजनिक गरेको  छ । गत आइतबार राति इलामको माई नगरपालिका–१ घर भई बिर्तामोडमा अस्थायी बसोबास गर्दै आएकी ५० वर्षीया माया पुलामी मगरको हत्या भएको थियो । पुलामीको शव सोमबार बिहान फेला परेको थियो । हत्यापछि प्रहरीले गरेको अनुसन्धानका क्रममा  प्रसाईं पक्राउ परेका हुन् ।

घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर प्रयोग गरेको थियो । तीनजनासँग विवाह गरेकी मगरको हत्या उनकै श्रीमान्मध्येबाट भएको आशङ्का गर्दै प्रहरीले अनुसन्धानको तीर उनीहरूमाथि सोझ्याएको थियो । तर, मगरकै साथी एनु राईको बयानका आधारमा हत्याको अभियुक्त सामु पुग्न सकिएको अनारमनीका डिएसपी सुरज कार्कीले बताए ।

अभियुक्तमाथि ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । डिएसपी कार्कीका अनुसार अभियुक्त प्रसाईंले बिर्तामोडमा ज्याला मजदुरीमा काम गर्दै आएका थिए । राईले मगर र प्रसाईंलाई चिनजान गराएको पाइएपछि प्रहरीले उनका गतिविधिमाथि नियन्त्रण राखेको बताएको छ ।

प्रसाईं र मगरबीच केही समय यता शारीरिक सम्बन्ध हुँदै आएको पाइएको कार्कीले बताए । शारीरिक सम्बन्धपछि प्रसाईंले विवाह गरौँ भनेर प्रस्ताव राख्दा मगरले अस्वीकार गरेपछि विवाद उत्पन्न भएको उनले बताए । सोही क्रममा मगरले प्रसाईंको आँखा घोचिदिएको र रिसको आवेशमा प्रसाईंले नजिकैबाट ढुङ्गा टिपेर हान्दा मगरको घटनास्थलमै निधन भएको बयान अभियुक्तले दिएको डिएसपी कार्कीले जानकारी दिए ।