समुदायमा कांग्रेस अभियानअन्तर्गत नेपाली कांग्रेसको ‘संवाद यात्रा’ झापाको मेची पुलबाट सुरु गरिएको छ । 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज बिहान ८ बजे झापाको मेची पुलबाट यात्रा सुरु गरेका हुन् । पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले भाषणरहित ‘संवाद यात्रा’ सुरु गरेका हुन् । यात्रामा जनताका कुरा सुनिने छ । 

कांग्रेसले आजदेखि माघ २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । सोही कार्यक्रमसँगै संवाद यात्रासमेत थालिएको  हो । 

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेललगायत सहभागी भएका छन् ।

‘भावि प्रधानमन्त्री’ का लागि शर्माको शुभकामना

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भावी प्रधानमन्त्रीको रुपमा गगन थापाको यात्रा फलदायी हुने बताएका छन् । उनले थापाले आगामी दिनमा देशको नेतृत्व गरेर जाने सम्भावना प्रवल भएको भन्दै शुभकामना दिए । यात्राको शुभारम्भमा बोल्दै महामन्त्री शर्माले नेता थापाले सिंगो कांग्रेसलाई तन्नेरी बनाउन नयाँ पुस्ता अघि सारेको बताए ।

‘कांग्रेसले आफनो ७८ वर्षको उमेरमा पुग्दै गर्दा कांग्रेसमा सहभागिता बढाउने मात्र होइन । सिंगो कांग्रेसलाई तन्नेरी बनाउने सिंगो कांग्रेसलाई भावनाको जागरुकताको नवीन विश्वासको थलो बनाउने कर्ममा तपाईं हामी लाग्नुछ । आज गगन जी यहाँबाट जाँदै गर्दा उहाँलाई हामी सबैको तर्फबाट अपार प्रेम छ, अपार शुभकामना छ ।’ महामन्त्री शर्माले भने ।