अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा पाँचजनाविरुद्ध मुद्दा दायर गरेको छ । 

आयोगले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा पाँचजनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायव सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्स राजविराजका सञ्चालक ललिताकुमारी साहविरुद्ध मुद्दा दायर गरिएको हो । 

उनीहरूले आर्थिक वर्ष २०७७-०७८ मा छात्राहरूका लागि निःशुल्क वितरण गर्न गाउँपालिकाले १७ लाख ८५ हजार ९ सय २८ रुपैयाँको सेनिटरी प्याड खरिद गरेको थियो । श्री लक्ष्मी ट्रेडर्सकी सञ्चालिकासँग मिलेमतो गरी खरिद गरेको अख्तियारले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । उनीहरूले ९ लाख ११ हजार ९ सय २५ रुपैयाँ पर्ने सेनिटरी प्याडलाई १७ लाख २५ हजार ९ सय २८ रुपैयाँमा खरिद बिक्री गरेको अख्तियारको दाबी छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित चार कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र ८ लाख ७४ हजार ३ रुपैयाँ बिगो बमोजिम जरिबाना गरी बिगो असुल उपर गर्न माग गरिएको छ ।