अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेकोलगायत अभियोगका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा उनीहरुविरुद्ध आयोगले यसअघि नै मुद्दा दायर गरेको थियो। नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिकरुपमा नियुक्ति लिएको आयोगको ठहर छ।

आयोगका अनुसार विकल पौडेललको हकमा संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति लिएको पाइएको छ। निजले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने, भागी जाने सम्भावनासमेत भएकाले अनुसन्धान कार्यमा बाधा नपुगोस् भन्ने उद्देश्यले उनीहरुलाई आज पक्राउ गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिएका छन्।