धरान । नक्कली कागजपत्र बनाएर आफूलाई डाक्टर भन्दै बिरामी जाँच गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् ।

विराटनगर उपमहानगर–२ घर भई काठमाडौं–३ महाराजगञ्ज बस्ने ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नक्कली डाक्टर भन्दै प्रहरीले पक्राउ गरेको हो । उनले आफूलाई डा. एस. भट्टाचार्य भनेर चिनाउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई काठमाडौंको वसुन्धरास्थित धौलागिरी हिमाल पोलिक्लिनिकबाट पक्राउ गरेको हो । त्यहाँ उनी इन्डोग्रिनोलोजी कन्सल्टेन्टको रूपमा काम गरिरहेका थिए ।

आफूलाई डाक्टर बताउने गरेका भट्टाचार्यले उक्त क्लिनिकसँगै नक्सालमा रहेको वी केयर पोलिक्लिनिकमा समेत काम गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनले उक्त पोलिक्लिनिकमा ९ महिना काम गरी करिब ६ सय ३० बिरामीको उपचारसमेत गराएको पाइएको छ । उनले कम्तिमा ३ वर्षदेखि बिरामी जाँचिरहेका थिए । उनीसँग त्रिवि शिक्षण अस्पताल, महराजगञ्जको कन्सल्ट्यान्ट फिजिसियन भएको कार्ड पनि छ ।

प्रहरीले उनको साथबाट ९ अक्टुबर २०१८ मा तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको हस्ताक्षरसहितको प्रशंसा–पत्र पनि बरामद गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन निर्देशक डा. ज्ञानेन्द्र गिरीले दिएको पत्र पनि भेटिएको छ ।

अनुसन्धानका क्रममा ती सबै कागजात नक्कली भएको फेला परेको छ । उनले नक्कली कागजात प्रयोग गरेर बिरामी जाँच गरिरहेको पाइएपछि प्रहरीले इलाज र लिखतसम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । उनको साथमा विश्व स्वास्थ्य सङ्गठनको समेत नक्कली प्रमाण–पत्र भेटिएको छ ।