धरान । धरान–१२ स्थित एम्स एकेडेमीको खेलकुद सप्ताह सोमबार सम्पन्न भएको छ ।

सप्ताहमा विभिन्न प्रतियोगितामा सर्वाधिक मेडल प्राप्त गर्ने स्वेता श्रेष्ठ र प्रशान्त कार्की उत्कृष्ट खेलाडी घोषित भएका छन् । श्रेष्ठले दुई स्वर्ण, चार रजत र एउटा कास्य पदक जितेकी थिइन् । यस्तै कार्कीले चारवटा स्वर्ण पदक जितेका थिए । उनी फुटबलतर्फ सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए ।

बास्केटबलतर्फ सर्वोत्कृष्ट खेलाडीमा सन्देश वस्ती घोषित भए । यता फुटबलको सर्वाधिक गोलकर्तामा अजय फोम्बो घोषित भएका थिए । प्रतियोगितामा फुटबल, बास्केटबल, फुटसल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धिचाल, सटपुट, ज्याभलिन थ्रो, एथलेटिक्सतर्फ १ सय मिटर, दुई सय मिटर, ८ सय मिटर र एक सय मिटरको रिले दौड गराइएको थियो ।

माघ ४ गतेदेखि सुरु भएको प्रतियोगितामा विजेता, उपविजेता तथा व्यक्तिगत विजेता खेलाडीलाई कलेजका प्राचार्य मित्र तामाङ, कलेजका प्रबन्ध निर्देशक अनुप योञ्जन, संयोजक दुर्गा सुवेदी, कलेजका शेयर सदस्य सुशील राई र शिक्षकहरूले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा प्राचार्यले खेलले खेलाडीलाई लगनशील र धैर्यवान् पनि बनाउने बताए । सप्ताहव्यापी खेलकुद कार्यक्रमका संयोजक हेमन्त भण्डारीले वार्षिक पात्रोअनुसार नै कलेजले खेलकुद कार्यक्रम गरिएको बताए । उनले यो खेलकुदको उद्देश्य हिसानमा हुने प्रतियोगिताका लागि खेलाडीहरू तयार गर्नु पनि रहेको बताए । यस्तै कलेजका संयोजक दुर्गा सुवेदीले खेलकुद स्वास्थ्यका लागि अति नै महत्वपूर्ण रहेको बताए । अतिरिक्त क्रियाकलापमा संलग्न विद्यार्थीहरू सबै कुरामा सर्वोत्कृष्ट हुँदै जाने पनि बताए ।

यसैबीच समापनको अवसरमा नेपाल पत्रकार महासङ्घ सुनसरी र आयोजकबीच मैत्रीपूर्ण फुटसलको आयोजना गरिएको थियो । प्रतियोगितामा महासङ्घको टोलीले आयोजकलाई १४–१२ गोलअन्तरले पराजित गरेको छ । आयोजकको तर्फबाट महासङ्घका अध्यक्ष जनकऋषि राईलाई मायाको चिनो प्रदान गरिएको छ ।