‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– २०८० विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्न हरेक वर्ष मनाइँदै आएको भूकम्प सुरक्षा दिवस वि.सं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि मनाउन थालिएको हो । 

भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र विभिन्न सङ्घसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएका छन् । 

राजधानीसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे आम नागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । कार्यक्रममा भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिन्छ । 

भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम आज चन्द्रागिरि नगरपालिकामा हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्ययतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृह मन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

गृहमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिले काठमाडौंको चन्द्रागिरि, ललितपुर र भक्तपुरमा मूख्य समारोह आयोजना गर्नेछ । विसं १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो भने असी हजार घर ध्वस्त भएका थिए ।

नेपाल भूकम्पीय जोखिम भएको देश हो । विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी आठ हजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा बढी आवासमा क्षति पुगेको थियो । यस्तै गत कार्तिक १७ गते शुक्रबार राति गएको जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ भने ठूलो सङ्ख्यामा भौतिक संरचनामा क्षति पुगेको छ । 

विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्व तयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको देखिन्छ ।