भद्रपुर । झापाका व्यवसायी सञ्जीव घोषको परिवारले सामुदायिक विद्यालयका दुई सय ४६ जना विद्यार्थीलाई जाडोको कपडा वितरण गरेका छन् ।

बिर्तामोड नगरपालिका–८ देउनिया डाँडास्थित शुक्रराज आधारभूत विद्यालयका बालकक्षादेखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गरेका हुन् । दाताको आग्रहमा विद्यालय परिवारले आइतबार आयोजना गरेको कार्यक्रममा भद्रपुरका व्यवसायी घोष र उनकी श्रीमती पिङ्की साह घोषले कपडा वितरण गर्दै विद्यालय परिसरमा वनभोजको समेत आयोजना गरेका थिए ।

कार्यक्रममा विभिन्न प्रकारका खेल तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । विद्यालयकी प्रधानाध्यापक सोमा दाहालको अध्यक्षता तथा कानून व्यवसायी एवम पूर्व विद्यार्थी स्वागत नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । त्यसक्रममा नेपालले ५० हजार मूल्य बराबरको पुस्तक निःशुल्क सहयोग गर्ने घोषणा गरेका थिए । सामुदायिक विद्यालयका विद्यार्थीहरूको कपडाका कारण दयनीय अवस्था देखेर न्यानो कपडा वितरण गरेको दाता घोषले बताए ।

वार्षिक रूपमा सामाजिक क्षेत्रमा केही न केही सहयोग गर्दै आइरहेको उनले जनाए । जाडोको समयमा न्यानो कपडा पाएपछि विद्यार्थीलगायत विद्यालय परिवार र अभिभावक खुसी देखिएका थिए ।