धरान । यले दोङ ५०८४ को अवसरमा धरानमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल पत्रकार महासङ्घको टोली टाइब्रेकरमा नेकपा (माओवादी केन्द्र)को टिमलाई हराउँदै विजयी भएको हो ।

किरात राई यायोक्खा सुनसरीको आयोजनामा सम्पन्न प्रतियोगितामा चार टिम सहभागी थिए । धरान–१५ को बिगफुट फुटसलमा आयोजित कार्यक्रममा पत्रकारको टोलीले नेकपा (एमाले) को टोलीलाई हराउँदै फाइनलमा पुगेको थियो । यस्तै माओवादीको टोलीले नेपाली काङ्ग्रेसको टोलीलाई हराउँदै फाइनलमा पुगेको थियो ।

पत्रकारको टोली र माओवादी टोलीबीच ५–५ गोल भएपछि टाइब्रेकरमा ३–२ गोलअन्तरले पत्रकार टोली विजयी भएको हो । किरात समुदायको नयाँ वर्ष (यले दोङ) को अवसर पारेर प्रतियोगिता गरिएको जिल्ला अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । किरात समुदायको छुट्टै सम्बत् रहेको जानकारी गराउनका लागि मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिएको उनले जानकारी दिए । प्रतियोगितामा सहभागी टिमहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यसैबीच तेस्रो यले दोङ थ्री बाइ थ्री खुला महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मेघा कलेज र ब्रदर्स बास्केटबल टिमले उचालेको छ । धरान बास्केटबल सङ्घको आयोजना तथा किरात राई यायोक्खा सुनसरीको सहयोगमा भानुचौकमा आयोजित प्रतियोगितामा महिलातर्फ धरान मेघाले मिराकल बास्केटबल टिमलाई ६–४ अङ्कले हराउँदै उपाधि जितेको हो । यता पुरुषतर्फ ब्रदर्स ए टिमले ब्रदर्स बि टिमलाई १२–९ अङ्कले हराएको छ ।

यस्तै पुरुषतर्फ ३० टिम र महिलातर्फ ९ टिम सहभागी थिए । प्रतियोगिताको विजेता टिमलाई जनही नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरिएको छ । यस्तै उपविजेता बनेका टिमलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगिताको एमभिपी मोस्ट भ्यालुएबल प्लेयरको उपाधि महिलातर्फ धरान मेघाका डा. आशा राई र पुरुषतर्फ ब्रदर्स ए टिमका सर्वोधन राई घोषित भए । उनीहरूले जनही नगद दुई हजार पाँच सयसहित ट्रफी र मेडल प्राप्त गरे । विजेता टिमहरूलाई सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, धरान–१८ वडाध्यक्ष प्रवीण राई, धरान–१६ वडाध्यक्ष मुरारी भट्टराई, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, मजदुर नेता एवम् अग्रज पत्रकार भीमज्वाला राईलगायतले वितरण गरे ।