विजयपुर । धरान–१७ स्थित पञ्चकन्या मा.वि.को ४८ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

आइतबार विद्यालयमा विविध कार्यक्रम गरी वाषिर्कोत्सव सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो । सामाजिक परीक्षण प्रतिवेदन उपसमितिका सदस्य तथा विद्यालयका सहायक प्रधानाध्यापक यमकुमार चाम्लिङले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३ सय मिटर दौडमा विजेता थामराज राईलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक खेमचन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको करातेतर्फ तेस्रो हुने देउसिका राईलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास बर्देवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा २०८० पुस १६ देखि सम्पन्न खेलकुद सप्ताहमा कक्षा ११ देखि १२ सम्मका विजेता तथा उपविजेता विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिएको थियो । खेलकुद सप्ताहमा १ सयभन्दा बढी प्रतियोगिताहरू भएका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य खिलाकुमारी राईलगायतको उपस्थिति रहेको थियो ।