विराटनगर । एक दर्जन बढी नेपाली युवतीमाथि यौन शोषण गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको जोगवनीका २६ वर्षीय रवि कुमारलाई मोरङ प्रहरीले शुक्रबार पक्राउ गरेको हो । रवि कुमारले नेपाली १५ जना नेपाली किशोरीहरूलाई ‘ब्ल्याकमेल’ गर्दै यौन शोषण गरेको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौँमा परेको छ । जिल्ला अदालत काठमाडौँबाट जबरजस्ती करणाी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रवि कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

विराटनगरबाट पक्राउ परेका उनलाई थप कारबाहीको लागि काठमाडौँ शुक्रबार साँझमा पठाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘सामाजिक सञ्जालमार्फत् नेपाली युवतीलाई साथी बनाउने र त्यसछि नजिकिने र भेटघाट गरेपछि शारीरिक सम्बन्ध राख्ने गरेको पाइएको छ । शारीरिक सम्बन्ध राखेको लुकेर भिडियो पनि बनाएको पाइएको छ । त्यसपछि तेही भिडियो देखाएर ‘ब्ल्याकमेल’ गर्दछन्’ घटनाको अनुसन्धान गर्दै आएको एक प्रहरी अधिकृतले भने, ‘एक जनालाई ब्ल्याकमेल गर्दै यौन शोषण गरेपछि अर्को युवतीलाई पनि तेसै गर्ने गरेको पाइएको छ । यसरी १२ देखि १५ जना किशोरीहरूले उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।’

काठमाडौँ प्रहरीले मोरङ प्रहरीसँगको समन्वयमा रवि कुमारलाई पक्राउ गरेको हो ।  पक्राउ परेका रवि कुमारलाई प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए । 

‘भारतीय बजार जोगवनीमा बसेर सामाजिक सञ्जालमार्फत् अनलाइनमा सम्पर्क बढाएर नेपाली युवतीलाई ट्रयापमा पार्दै बारम्बार यौन शोषण गरेको आरोपमा रवि कुमारलाई पक्राउ गरिएको हो’ प्रहरी स्रोतले भन्यो, ‘युवतीसँग सम्पर्क बनाएर होटलमा बोलाउने र यौन शोषण गर्ने गरेको खुलेको छ ।’ रवि कुमारले यौन सम्बन्ध बनाएको भिडियोसमेत खिचेर युवतीलाई ट्रयापमा पार्दै ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रहरी अधिकारी बताउँछन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले हालसम्म १५ जनाभन्दा बढी नेपाली युवतीलाई ट्रयापमा पारिसकेको खुलेको छ । प्रहरीका अनुसार उनले त्यसरी नै ‘ब्ल्याकमेल’ गर्दै ट्रयापमा पारेर एक युवतीलाई शुक्रबार विराटनगर बोलाएका थिए । तिनै युवतीलाई भेट्न आएका बेला रवि कुमार पक्राउ परेका हुन् ।

‘उनीबाट पीडित हुने नेपाली युवतीको सङ्ख्या बढ्दै गएको छ । किटानी जाहेरीका आधारमा खोजी भइरहेको थियो’ प्रहरीका एक अधिकारी भन्छन्, ‘उस्तै प्रकृतिको घटनाका लागि विराटनगर आएका बेला पक्राउ गरिएको हो । एकपटक यौन सम्बन्धमा बसेका किशोरीको भिडियो बनाएर उल्टै ‘ब्ल्याकमेल’ गर्ने गरेको पाइएको छ ।’

प्रहरीका अनुसार अनलाइनमार्फत् नजिक भएर साथी बनाएपछि यौन सम्बन्ध राखेर अश्लील भिडियो बनाउने र युवतीलाई ट्रयापमा पार्दै ‘ब्ल्याकमेल’ गर्ने गरेको पाइएको हो । अश्लील भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिदिने धम्की दिने गर्न थालेपछि न्याय माग्दै पीडितहरू प्रहरीमा पुगेको जनाइएको छ । रवि कुमारले सामाजिक सञ्जालमा अश्लील भिडियो ‘अपलोड’ गरिदिने धम्की दिँदै आफ्ना लागि हवाई टिकट काट्न र होटलका कोठा बुक गर्न लगाउने गरेको प्रहरीको भनाइ छ । त्यसबापतको सबै खर्च उनले युवतीलाई नै तिराउने गरेको पाइएको छ ।

‘पक्राउ परेका भारतीय नागरिकले दिएको तनावका कारण कतिपय युवतीहरू आत्महत्या गर्ने मनस्थितिमा समेत पुगेको पाइएको छ । पहिलोपटक भने उनले आफ्नै खर्चमा युवतीलाई बोलाउने गरेको खुल्यो । यौन सम्बन्ध बनाएको भिडियो खिचेपछि भने ‘ब्ल्याकमेल’ गरेर पैसा माग्ने तथा भेट्दा बोलाएका बेला भएको सबै खर्च युवतीलाई तिराउने गरेको यकिन भएको छ’–प्रहरी स्रोतले भन्यो ।  प्रहरीका अनुसार उनीबाट पीडित हुने युवतीहरू धेरै काठमाडौँका छन् । रवि कुमार पक्राउ परेसँगै उनीबाट पीडित भएकाहरूको सङ्ख्या बढ्नसक्ने प्रहरीको अनुमान छ ।