विराटनगर । विराटनगर–११ बसपार्कस्थित रत्ना होटलमा सञ्चालित सम्राट क्यासिनोमा जुवा खेलर निस्किएका युवाहरूबीच मध्य रातमा खुकुरी हानाहान भएको छ । खुकुरी प्रहार गरी विराटनगरका एक जना युवा घाइते भएका छन् । खुकुरी प्रहारबाट विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन् ।

कँडेललाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले  विराटनगर–८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलियालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका थपलियाविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दर्ता भएको उनले बताए । आइतबार मोरङ अदालतमा म्याद थप गर्ने प्रहरीले तयारी गरेको छ ।

मादक पदार्थ सेवन (मापसे) गरेका युवाहरूबीच सम्राट क्यासिनोमा शनिबार बिहानका राति १ः३० बजेतिर झगडा भएको थियो । झगडा हुन थालेपछि क्यासिनोबाट बाउन्सरले उनीहरूलाई बाहिर निकालेका थिए । बाहिर निकाल्नासाथ क्यासिनो परिसरमै युवाहरूबीच खुकुरी र हेल्मेट हानाहान भएको थियो ।

कँडेलको टाउको र देब्रे कानमा गहिरो चोट लागेको छ । विराट नर्सिङ होममा उपचाररत कँडेलको टाउकोमा १२ र कानमा ५ टाँका लगाइएको छ । गहिरो चोट लागे पनि अवस्था खतरामुक्त रहेको जानकारी अस्पतालले प्रहरीलाई दिएको छ । उनका अनुसार कँडेलमाथि थपलियाले आक्रमण गरेका हुन् । ‘युवाहरूबीच झैझगडा र कुटाकुट भएको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो’ दाहालले भने, ‘घटनामा संलग्नमध्ये थपलियालाई पक्राउ गरिएको छ ।’

युवाहरूबीच कुटाकुट मात्रै भएको जानकारी प्राप्त भए पनि घटनाको प्रकृति हेर्दा धारिलो हतियार नै प्रहार गरेजस्तो देखिने उनको भनाइ छ । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको र अनुसन्धानपछि थप प्रष्ट हुने दाहालले बताए । प्रहरीले घटनामा प्रयोग गरिएको हतियार बरामद गर्न सकेको छैन । दाहालका अनुसार घाइते कँडेल र पक्राउ परेका थपलिया साथीसाथी हुन् ।

कँडेल र थपलियासहित केही नेपाली युवा जुवा खेल्न क्यासिनोमा छिरेका थिए । जुवा खेल्ने क्रममा पैसा हारमारको विषयलाई लिएर साथी–साथीबीच नै विवाद भएको बुझिएको छ । ‘झगडा हुन थालेपछि क्यासिनोका बाउन्सरले उनीहरूलाई बाहिर निकाले । त्यसपछि क्यासिनो परिसरमै उनीहरूबीच खुकुरी र हेल्मेटले हानाहान हुन थालेको थाल्यो’–एक जना प्रत्यक्ष दर्शीले भने ।

बाहिर निस्किएपछि सडकमा पनि उनीहरूबीच हानाहान भएको प्रहरीको भनाइ छ । झगडा नियन्त्रणमा लिने क्रममा युवाहरूले बसपार्कको ड्युटीमा खटिएका प्रहरीमाथि पनि दुव्र्यवहार गरेका छन् ।