धरान । स्कुले विद्यार्थीमा किताबी ज्ञान त हुन्छ तर, बाहिरी व्यावहारिक ज्ञानको कमी हुन्छ भन्ने आम बुझाइ छ । तर, सबै विद्यार्थीलाई एउटै सोच्नु गलत हुँदोरहेछ ।

जाँगर हुने विद्यार्थीले पढाइसँगै व्यावहारिक ज्ञान पनि राम्रोसँग सिक्न सक्छन् भन्ने उदाहरण पब्लिक हाईस्कुलको वार्षिक उत्सवमा देखियो । धरानको सबैभन्दा पुरानो विद्यालय पब्लिक हाईस्कुलले ७७ औं वार्षिक उत्सवको अवसरमा दुई दिने उत्सव आयोजना गरेर विद्यार्थीका सीप र कला प्रदर्शन गर्ने अवसर दिएको थियो ।

यो अवसरलाई सदुपयोग गर्दै विद्यार्थीहरूले सीप र कला देखाए । उत्सवमा विद्यार्थीका लागि स्टलको व्यवस्था गरिएको थियो । त्यही स्टलमा कसैले चट्पटे बनाएर बेचे, कसैले अचार त कसैले सेकुवा बनाए । विद्यार्थीहरूले उत्सवमा घरमा सिकेका खानेकुरा, धागोका लुगा र फूल मात्र होइन, स्कुलमा सिकेर रोबोटदेखि ड्रोनसम्म प्रदर्शन गरे । पब्लिक हाईस्कुलको कक्षा १० मा अध्ययनरत आस्था श्रेष्ठ र युजिना धमलाले धागोबाट बुनेका फूल, ब्याग, मोजा, टोपीदेखि स्वेटरसम्म बिक्रीमा राखेका थिए । स्कुलबाट फर्किएपछि बेलुका घरमै बुन्न सिकेका उनीहरूले पहिला पनि कक्षामा यस्ता समान साथीहरूलाई बेच्ने गरेका थिए । उनीहरूले कति कुरा आमाबाट बुन्न सिकेको र कतिपय युट्युब हेरेर सिकेको बताए । उनीहरूलाई अभिभावकले पनि यस्ता समान बुन्न प्रोत्साहन गरेका छन् । अभिभावक शिखा श्रेष्ठ भन्छिन्, ‘घरमा खाली हुँदा बुन्छन्, राम्रो काम गर्नेलाई हामी पनि सहयोग गर्छौं ।’

पब्लिककै कक्षा १२ मा अध्ययनरत विद्यार्थी प्रकृति लिम्बूले पनि घरमै धागोबाट स्वेटरलगायत विभिन्न कपडा बन्न सिकिन् । त्यसपछि उनले चिनेजानेकालाई बेचिन् पनि । राम्रो गर्छौ भनेर सबैले हौसला दिएपछि उनले उत्सवका अवसरमा स्टल राखिन् । समान सोचेजस्तो बिक्री नहुँदा कहिलेकाहीँ निराश भए पनि हिम्मत नहारेको उनी बताउँछिन् । पब्लिकमा होटल म्यानेज्मेन्ट पढ्ने विद्यार्थीले होटलका जस्तै मीठा परिकार बनाएर राखेका थिए । ब्युटिपार्लरसम्बन्धी पढिरहेका विद्यार्थीहरूले आफ्ना सीप प्रदर्शन गर्दै मेहन्दी लगाउने, मेकअप गर्ने जस्ता काम गरे ।

त्यस्तै इलेक्ट्रिकल इन्जिनियरिङ पढ्नेहरूले विद्युतीय सामग्रीहरूको प्रदर्शन गरे । विज्ञानका विद्यार्थीले आफूले सिकेको ज्ञानलाई व्यवहारमा प्रस्तुत गरे । कसैले रक्त समूह छुट्याउने काम गरे भने कसैले ल्यावसम्बन्धी परीक्षण गरे । उत्सवको उद्घाटन नै विद्यार्थीले बनाएको रोबोटले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईलाई पुष्पगुच्छाले स्वागत गरेर गरिएको थियो । त्यस्तै विद्यार्थीले नै निर्माण गरेको ड्रोनले पुष्पवृष्टि गरेर अतिथिहरूलाई स्वागत गरिएको थियो । विद्यार्थीहरूको यस्तो सीप र कला देखेर नगरप्रमुख राई पनि प्रफुल्ल भए । उनले विद्यार्थीहरूको प्रशंसा पनि गरे । स्कुललाई धन्यवाद दिए ।

राष्ट्रिय सेवा दलमा आबद्ध विद्यार्थीले कवाज, नृत्य प्रस्तुत गरे भने अन्य विद्यार्थीहरूले पनि कसैले गीत गाए, कोही नाचे । यसरी विद्यार्थीले विभिन्न खालका कला प्रदर्शन गर्दा स्कुलका प्राचार्य डा.इन्द्रमोहन झा निकै प्रफुल्ल देखिन्थे । उनले भने, ‘पढाइसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि प्रोत्साहन गरिरहेका छौं । विद्यार्थीको यो उत्साह देखेर खुसी लागेको छ ।’ देशमा राणाशासन रहेकै बेला वि.सं.२००३ सालमा स्थापना भएको पब्लिक हाईस्कुल पहिलादेखि नै प्रसिद्ध थियो । तर, बीचमा निजी बोर्डिङ स्कुलको लहर चलेका बेला यो पनि समस्यामा पर्यो । विद्यालयको अवस्था नाजुक बनिरहेका बेला शिक्षक, अभिभावकहरूले यसलाई सुधार्नु पर्ने सोच बनाए ।

त्यसपछि २०७१ साल वैशाख २६ बाट विद्यालय सुधार योजना लागू गरेर अङ्ग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरियो । अभिभावकसँग सहयोग मागेर सुरु भएको योजना यति सफल बन्यो कि, अहिले निजी स्कुलबाट बर्सेनि पब्लिकमा विद्यार्थीको ओइरो लाग्छ । स्कुलले प्रवेश परीक्षा लिएर भर्ना लिने गरेको छ । अहिले कक्षा १२ सम्म जम्मा ३ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिएको विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीलाई बाहिरी ज्ञान दिन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको भनाइ छ । उनी भन्छन्, ‘यसलाई अझै गुणस्तर बढाउन ध्यान दिइरहेका छौँ ।’

photo scl