इलामको माई नगरपालिका वडा नम्बर–२ का सेवानिवृत्त शिक्षक दम्पतीले आफ्नो छोराको स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन्। सेवानिवृत्त शिक्षक घनेन्द्र कार्की र राधिका कार्कीले छोरा इन्जिनियर सुवर्णको स्मृतिमा स्थानीय कन्काई माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्।

विद्यालयको ६३औँ वार्षिकोत्सवका अवसरमा कार्की दम्पतीले कक्षा ८, १० र ११ का उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरी (इन्जिनियर सुवर्ण कार्की स्मृति अक्षयकोष) स्थापना गरेका प्रधानाध्यापक हरिप्रसाद पौड्यालले जानकारी दिए। कार्की दम्पतीले अक्षयकोषबापतको रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया आचार्य र प्रधानाध्यापक पौड्याललाई हस्तान्तरण गरेका छन्। 

चेक हस्तान्तरण गर्दै कार्कीले बर्सेनि उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेको बताए। उनको छोराले सोही विद्यालयान अध्ययन गरेकाले र कार्की पनि सोही विद्यालयमा अध्यापन गरेर सेवानिवृत्त भएकाले। उनका छोरा सुवर्णको २०७६ सालमा ब्रेनट्युमर रोगबाट निधन भएको थियो ।