पवित्र तीर्थस्थल, धर्तीको पहिलो धामले परिचित वराहक्षेत्रमा पौषे औंसी मेलामा भक्तजनको घुइँचो लागेको छ । पुस महिनाको औंसी तिथिमा बर्सेनि लाग्ने मेला यस वर्ष तीन दिन लाग्ने भएको छ । हिजो पुस २५ देखि आज मुख्य दिनसँगै भोलि पुस २७ गतेसम्म लाग्दैछ ।

नेपाल तथा भारतको बिहार, दार्जिलिङ, सिक्किम र बङ्लादेशबाट समेत लाखौं  भक्तजन पितृ उद्धारका लागि वराहक्षेत्र मन्दिरमा आएको वराह भगवानका सेवक योगेश 'वराहक्षेत्र'ले जानकारी दिए ।

धर्मशास्त्र स्कन्ध र वराह पुराणअनुसार भगवान् विष्णुले कोकाहा कौशिकी तटमा पहिलो पटक श्राद्ध गरेको शास्त्रीय मान्यता रहेको छ । सोही परम्पराअनुसार हिन्दू धर्मावलम्बी भक्तजनले आफ्ना स्वर्गीय पितृको उद्धारला लागि श्राद्ध गर्न वराहक्षेत्र आउने परम्परागत धार्मिक आस्था छ ।

धर्मशास्त्रअनुसार तीन ऋण (देव ऋण, गुरु ऋण र पित् ऋण) मध्ये पितृ ऋण तिर्ने माध्यम श्राद्धलाई लिने गरिएको सेवक 'वराहक्षेत्र' ले जानकारी दिए । भक्तजनको सुविधाका लागि मन्दिर क्षेत्रमा स्नान घर, शौचालय, श्राद्ध तर्पण गरिने स्थललगायत निर्माण गरिएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले जानकारी दिए । वराहक्षेत्र संरक्षण मञ्च, वराहक्षेत्र वातावरणीय तथा सरसफाइ संस्था, गुप्त वराह सम्बर्द्धन समिति र वराह दर्शन फाउन्डेसनले संयुक्त रूपमा मेलाको आयोजना गरेका छन् ।

ट्राफिक व्यवस्थापन अस्तव्यस्त

बाटोमा सवारी राख्ने समस्याका कारण बर्सेनि देखिएको ट्राफिक समस्या यस वर्ष पनि दोहोरिएको छ ।

ट्राफिक प्रहरी जनशक्तिको अवाभ देखिंदा सवारी यत्रतत्र छरिएका छन्। सवारीको अव्यवस्थित जामले गर्दा कोशीपुलदेखि ४ किलोमिटर सडक पार गर्न घण्टौं लागेको भक्तजनले गुनासो गरेका छन्।
१ लाख भक्तजन पौषे औंसी मेलामा आउने अनुमान गरे पनि आयोजकको अनुमानभन्दा बढी भक्तजन आएकाले सवारी आवागमनमा असहजता उत्पन्न भएको बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले जानकारी दिए ।