सुनसरीको वराहक्षेत्रमा तीन दिने पितृ श्राद्ध मेला सुरु भएको छ । २७ गतेसम्म लाग्ने मेला बराहक्षेत्र मन्दिर क्षेत्रको कोकाहा र सप्तकोसी नदी किनारमा लागिरहेको छ ।

नेपाल तथा भारतको बिहार, दार्जिलिङ, सिक्किमबाट एक लाखको हाराहारीमा भक्तालु आउने अनुमान गरिएको छ ।

हिन्दु धर्मशास्त्र स्कन्ध र वराह पुराणअनुसार भगवान् विष्णुले कोकाहा कौशिकी तटमा पहिलो पटक श्राद्ध गरेको हुनाले मानव जाति आफ्ना स्वर्गीय पितृको श्राद्ध गर्न आउने परम्परागत धार्मिक आस्था छ ।

'दिवङ्गत भएका आफ्ना पुर्खा, पूर्वज जो पितृलोकमा छन्, उनीहरूलाई नै हाम्रो सनातन संस्कारले पितृको संज्ञा दिएको छ', वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले भने, 'धर्मशास्त्रअनुसार जन्मजात तीन ऋण (देव ऋण, गुरु ऋण र पित् ऋण) मध्ये पितृ ऋण तिर्ने माध्यम श्राद्धलाई मानिन्छ ।'

वराहक्षेत्र संरक्षण मञ्च, वराहक्षेत्र वातावरणीय तथा सरसफाइ संस्था, गुप्त वराह सम्बर्द्धन समिति र वराह दर्शन फाउन्डेसनले संयुक्त रूपमा सञ्चालन गरेको मेलामा तीर्थयात्रीको लागि मन्दिर क्षेत्रमा स्नान घर, शौचालय, श्राद्ध तर्पण गरिने स्थललगायत निर्माण गरिएको मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए ।