चतराधामस्थित जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठका पीठाधिश्वर महायोगी सिद्धबाबालाई अयोध्यामा हुने भगवान श्रीरामको बाल स्वरूपको नूतन श्रीविग्रहको प्राण प्रतिष्ठा समारोहमा आमन्त्रण गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतको उपस्थिति रहने भनिएको सो समारोहमा उपस्थितिका लागि श्रीराम मन्दिर ट्रष्टको निमन्त्रणा वितरणको जिम्मेवारी वहन गरेको हिन्दु स्वयंसेवक संघका पदाधिकारीले बुधबार वराहक्षेत्र चतराधामस्थित पीठमा पुगेर जगद्गुरू महायोगी सिद्धबाबालाई अयोध्याबाट आएको निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन् ।

'अनन्तश्री विभूषित जगद्गुरू रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबालाई आगामी माघ ८ गते तदनुसार सन् २२ जनवरी २०२४ मा श्रीराम जन्मभूमी अयोध्यामा हुने भगवान श्रीरामको बाल स्वरूपको नूतन श्रीविग्रहको प्राण प्रतिष्ठा समारोहमा गरिमामय उपस्थितिका लागि विशेष सम्मानका साथ निमन्त्रणा गरिएको छ ।' पीठका सेवकले आदर्श शर्माले भने ।

हिन्दु स्वयंसेवक संघ नेपालका केन्द्रीय सह- सचिव महेन्द्रप्रसाद साह एवं संघका विराटनगर शाखाका मुख्य प्रचारक मुकेश साहलगायतको टोली सिद्धबाबा आश्रम पुगेको थियो ।

पीठका सेवक शर्माका अनुसार श्रीराम जन्मभूमी तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्तश्री नृत्यगोपालदास जी महाराजका अनन्य कृपापात्र जगदगुरु महायोगी सिद्धबाबालाई भारतको अयोध्यामा आयोजित 'विराट सन्त सम्मेलन' मा सहभागी षड्दर्शनका सम्पूर्ण सन्त समाजबाट सर्वसम्मत रुपमा २०७६ जेठ ३२ गते तदनुरुप १५ जुन २०१९ का दिन धर्म चक्रवर्ती तुलसी पिठाधिश्वर जगद्गुरु श्रीरामानन्दाचार्य श्रीरामभद्राचार्य जी महाराज लगायतका अन्य विभूतिहरुका करकमलबाट त्रिदंड, तिलक एवं भेष प्रदान गर्दै जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्यको पदमा प्रतिष्ठित गरी सर्वमान्य 'जगद्गुरु' घोषणा गरिएको थियो ।
Nimantrana siddhababa chataradham

'हिमालय क्षेत्रदेखि मरूभूमीय प्रदेशसम्मका भौगोलिक कठिनाइ र वातावरणीय प्रतिकूलतामा पनि अविचलित रही तपस्यारत रहेर झण्डै ४०० वर्षदेखि विकीर्ण अवस्थामा रहेको सुरत शब्दयोग अर्थात् हिमालयन सिद्धमहायोगलाई आफ्ना गुरूजनहरूको कृपा र आफ्नो तपोबलबाट साङ्गोपाङ्ग रूपमा प्राप्त गर्नु भएका परमपूज्य जगद्गुरू महायोगी सिद्धबाबा स्पर्श, दृष्टि, मन्त्र वा सङ्कल्प मात्रले पनि हरेक मनुष्यमा रहेको त्यो दिव्य कुण्डलिनी शक्ति जागृत गराउन सक्ने एक समाधिसिद्ध महापुरूष हुनुहुन्छ,' सेवक शर्माले भने, 'नेपालको धर्म संस्कृतिको जगेर्ना गर्दै महायोग साधना मार्फत भगवान्नाम विस्तार र वैदिक सनातन संस्कार संस्कृतिको निर्माण गरी असंख्य जीवहरुको कल्याण गर्ने अभियानका जगद्गुरू महायोगी सिद्धबाबा उदयीमान तारा हुनहुन्छ l उहाँको ज्ञानको पूर्ण उपयोग गर्दा नेपालको सम्बृद्धिका सम्पूर्ण ढोकाहरू समेत खुल्नेछन् l'

आगामी माघ ७ गतेभित्र सिद्धबाबाअयोध्या पुगिसक्ने कार्यक्रम रहेको छ । चतराधाममा आगामी वैशाखमा कुम्भ मेलाको अवसर पारेर सिद्धबाबाको सत्सङ्कल्पमा सङ्कटमोचन श्री हनुमत महायज्ञको आयोजनासमेत हुँदैछ ।