विजयपुर । धरान–१२ स्थित पब्लिक हाईस्कुल परिसरमा लागेको ‘धरान उत्सव’ को विषयमा कतिपयले फेसबुकमा ‘धरान उत्सव कि खाना उत्सव ?’ भनी टिप्पणी गरेका छन् ।

‘धरान डे’ को अवसरमा आयोजित पाँच दिने उत्सवमा खानाका स्टल नै बढी छन् । विशेषगरी तयारी रक्सी तथा घरेलु रक्सीहरूको प्रवर्धन गरेजस्तो लाग्ने भनी कतिपयले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका हुन् । धरान उत्सवमा स्टलसमेत राखेकी धरान–१५ की मनिता घिमिरेले धरान उत्सव जस्तो नभई ‘फुड फेस्टिभल’ जस्तो देखिएको टिप्पणी गरिन् । उनले भनिन्, ‘फेसबुकमा पनि धरान उत्सव नलेखी मेला भनेर लेखेकी छु । किनकि उत्सव जस्तो छैन ।’

उत्सवमा व्यापारिक उद्देश्य नराखी स्थानीय उत्पादन, परिकार, सांस्कृतिक पहिचान, पर्यटन प्रवर्धन गर्ने उद्देश्य राखेर त्यस्ता सामग्रीको प्रवर्धन गर्नुपर्ने उनी बताउँछिन् । धरानले उत्सवको उद्घाटनमा छिमेकी पालिका, भगिनीसम्बन्ध भएका पालिका र काठमाडौँ महानगरसम्मलाई आमन्त्रण गरेको थियो । टाढादेखि आमन्त्रण गरेका पाहुनालाई धरानका स्थानीय उत्पादन, पुराताŒिवक महŒवका वस्तुलगायतका कुरा प्रदर्शनीमा राख्नुपर्ने उनी बताउँछिन् ।

उपमहानगर नै आयोजक रहेको उत्सवमा खेल तमासादेखि खाद्य पदार्थसहित मादक पदार्थ ‘रक्सी’ लाई प्रवर्धन गर्न खोजिएको भान भएको छ । मेलामा सचिवालयसहित जम्मा ९० स्टल राखिएको कार्यपालिका सदस्य तथा स्टल व्यवस्थापन समितिका संयोजक विकास भाटीले बताए । ९० वटा स्टलमध्ये अधिकांश स्टल खाद्य पदार्थको छ । उनले कुन व्यवसायलाई कति स्टल दिइएको छ भन्ने विषयमा पनि स्पष्ट पार्न सकेनन् । उपमहानगरपालिकाका कर्मचारी रमेश साहबाट जानकारी लिनु भन्दै संयोजक भाटी पन्छिए । कर्मचारी साहले फोन सम्पर्कमा स्टलहरूको यकिन सङ्ख्या जानकारी नभएको बताए । उनले भने, ‘स्टलको सङ्ख्या ठ्याक्कै भन्न सक्दिन । माग धेरै भएकाले बढाइएको होला ।’ पहिलो पटक फोनसम्पर्कमा तथ्याङ्क तयार गरिसकेपश्चात् जानकारी दिने बताएका साहले पुनः फोन सम्पर्क गर्दा स्विचअफ गरेका थिए ।

बुद्धिजीवी डा. राजेन्द्र शर्माले जन्मदिन कसरी मनाउने भन्ने विषय नेतृत्वको सोचअनुसार हुने बताए । उनले भने, ‘जन्मदिनमा धराने कसरी खुसी हुन्छन्, त्यसरी मनाउने हो ।’ धरान दिवसका विषयमा नै असहमति राख्दै डा. शर्माले भने, ‘धरान उत्सवलाई मैले जुँगाको जन्मोत्सव भन्ने गरेको छु ।’ उनले थपे, ‘धरानको इतिहास ५ सय वर्षको छ । हामी एक सय वर्षको इतिहासमा उत्सव मनाइरहेका छौँ । छोरा जन्मेको २० वर्षमा जुँगा आएपछि जन्मदिन मनाए जस्तो छ । छोराको जन्मदिन त २० वर्ष अघि नै थियो नि !’