विराटनगर । कोशी प्रदेशमा विभिन्न अपराध गरेर हालसम्म १२ हजार नौ सय ३९ जना अभियुक्त फरार रहेका छन् । उनीहरू विभिन्न अपराधमा संलग्न भएर फरार रहेका अभियुक्तहरू हुन् ।
अपराध गरेर फरार रहेका प्रतिवादी सबैभन्दा बढी मोरङका रहेका छन् । मोरङका तीन हजार आठ सय ५७, सुनसरी तीन हजार पाँच सय १०, झापामा दुई हजार सात सय ३३, इलाम तीन सय ८८, पाँचथर एक सय ९६, ताप्लेजुङ तीन सय ३१, धनकुटा दुई सय १४, तेह्रथुम एक सय ४४, सङ्खुवासभा एक सय ४६, भोजपुर एक सय ६८, उदयपुर सात सय १३, खोटाङ दुई सय ११, ओखलढुङ्गा एक सय ३१ र सोलुखुम्बुमा एक सय ८९ जना फरार प्रतिवादी रहेका छन् । उनीहरू विभिन्न अपराध गरेर फरार रहेका अभियुक्तहरू हुन् । उनीहरूको खोजी कार्य प्रहरीले तीव्र बनाएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले फरार रहेका अयिभुक्तहरूलाई पनि धमाधम पक्राउ गर्दै आएको छ । कोशी प्रदेश प्रहरीले अभियान चलाएर फरार अभियुक्त पनि पक्राउ गर्दै आएको छ । दुई वर्ष पाँच महिनामा कोशी प्रदेशको १४ जिल्लाबाट प्रहरीले तीन हजार सात सय ६० जना फरार प्रतिवादी पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा एक सय हजार सात सय ३८ जना पक्राउ परेका छन् । यसै गरी आर्थिक वर्ष २०७८/०७९ मा एक हजार चार सय ६६ जना पक्राउ परेका छन् भने चालु आर्थिक वर्ष २०८०/०८१ को मङ्सिरसम्म छ सय ५६ जना पक्राउ परेको प्रदेश प्रहरीले जनाएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी फरार प्रतिवादी मोरङले पक्राउ गरेको छ । मोरङले दुई सय २६ पक्राउ गरेको छ । यस्तै मोरङ पछि झापाले सबैभन्दा बढी फरार पक्राउ गरेको छ । झापाले एक सय १५, सुनसरीले ५५, इलामले ३१, पाँचथरले १६, ताप्लेजुङले पाँच, धनकुटाले २१, तेह्रथुमले सात, भोजपुरले चार, सङ्खुवासभाले पाँच, उदयपुरले ८३, खोटाङले १३, ओखलढुङ्गाले तीन र सोलुखुम्बुले १५ जना पक्राउ गरेको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ । चालु आर्थिक वर्षमा प्रदेशमा छ सय ५६ जना फरार प्रतिवादी पक्राउ गर्दा चार सय नौ वर्ष आठ दिन कैद सजाय भुक्तान गराएको छ भने ७१ करोड ९३ लाख सात हजार पाँच सय ४१ रुपैयाँ जरिबाना असुल गरेको छ ।
पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी घटनामा संलग्न प्रतिवादीहरू पक्राउ गरिने फरार प्रतिवादी पक्राउ अभियान प्रदेशमा सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए । ‘अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार पक्राउ अभियान सुरु गरिएको हो’–उनले भने । अभियानका माध्यमबाट अपराध गरेर जति दिन लुकिछिपी बसे पनि तोकिएको कैद वा जरिबाना भुक्तान नगरी छुट्ने छैनन भन्ने सन्देश पनि दिएको उनले बताए ।
‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिँदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमबाट समाजमा अपराधको न्यूनीकरण पनि गर्नका लागि सचेतना फैलने आशा गरिएको छ’–डिआइजी बास्तोलाले भने । प्रदेशको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुँदै कानूनप्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभूति दिलाउन लागि परेको उनले बताए । ‘पीडक पक्षलाई कानूनबाट भाग्न वा बच्न सकिँदैन भन्ने डर पैदा गर्न सञ्चालित फरार अभियुक्त पक्राउ अभियानलाई मोरङ प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आइरहेको छ’–डिआइजी बास्तोलाले भने ।
































