विजयपुर । धरान–१६ स्थित भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ ।

विद्यालयका एक सय ५० जना विद्यार्थीहरुलाई बिहीबार न्यानो स्वेटर वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल नेपालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई धरान–१६ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मुरारी भट्टराईले स्वेटर प्रदान गरे । विव्यस अध्यक्ष नेपालका भतिज सचिन नेपालको आर्थिक सहयोगमा विद्यार्थीलाई स्वेटर प्रदान गरिएको हो । सचिन हाल अमेरिकामा छन् । विद्यालयका गरिब तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गर्दै आर्थिक सहयोग गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीका अनुसार ५० हजार छ सय तीन रूपैयाँ बराबरको स्वेटर प्रदान गरिएको छ । कार्यक्रममा वडाध्यक्ष भट्टराईले आफू निर्वाचित भएदेखि नै वडाका सामुदायिक विद्यालयको विकासमा लागि परिरहेको बताए । उनले भगवती विद्यालयमा विद्यार्थी सङ्ख्या पनि वृद्धि हुन थालेको बताए । विद्यालयमा गुणस्तरीय शिक्षाका लागि अभिभावकको भूमिका पनि रहुनुपर्ने बताए ।

विव्यस अध्यक्ष नेपालले विद्यार्थीका अभिभावकलाई विद्यालयको विषयमा छलफल गर्न पटकपटक बैठकमा बोलाए पनि उपस्थित नभएको भन्दै दुःख व्यक्त गरे । उनेल भने, ‘छोराछोरीको भविष्यका लागि उपस्थित भइदिनु अनुरोध गर्छौ तर उहाँहरु उपस्थित हुनुहुन्न ।’ उनले आफ्नो भतिज सचिनले विद्यालय र विद्यार्थीको अवस्था हेरेर सहयोग गरेको बताए । कार्यक्रममा धरान–१६ का वडा सदस्य सुशीला श्रेष्ठ, मीरा बराइली, शिक्षक अभिभावक सङ्घका अध्यक्ष उज्ज्वल बास्तोला, विद्यालयका पूर्व प्रधानाध्यापक पदमबहादुर श्रेष्ठ, विव्यस सदस्य दुर्गा कार्कीलगायतले स्वीटर प्रदान गरेको विद्यालयका शिक्षक विष्णु माबोहाङले जानकारी दिए ।