विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २० लाख रुपैयाँ अपचलन गरेको आरोपमा प्रहरीले तीन जना कर्मचारीलाई पक्राउ गरेको छ । अस्पतालको उजुरीको आधारमा मोरङ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अस्पतालको काउन्टरमा क्यासियरका रूपमा कार्यरत विराटनगर–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास र सुनसरीको दुहबी–१२ का २९ वर्षीय राजेशकुमार फौदार रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

उनीहरूको विषयमा आपराधिक विश्वासघात अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीका डिएसपी दाहालले बताए । उनीहरूले अस्पतालको नगद काउन्टरमा सेवाग्राहीबाट प्राप्त रकम हिनामिना गरेको आरोप छ । उनीहरू तीनै जना अस्पतालको क्यास काउन्टरमा कार्यरत कर्मचारी हुन् । ‘उनीहरूले क्यास काउन्टरमा सङ्कलन भएको केही रकम अस्पताललाई बुझाउने र केही रकम आफै राखेर हिनामिना गरेको पाइएको छ’–उनले भने ।

प्रहरीले बराल र फौदारलाई यही पुस १० गते पक्राउ गरी मोरङ जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए ।