वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ चतराघाटस्थित कोसी नदीबाट प्रहरीले एम्बुलेन्स र मोटरसाइकलसहित ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय चतरा र चक्रघट्टीको संयुक्त टोलीले बिहीबार बिहान नदीमा ल्याइएको गाँजा एम्बुलेन्समा लोड गरिरहेको गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा निलो प्लास्टिकको बोरा ३, सेतो प्लास्टिक बोरा २ र गाडी बाहिर भूर्इंमा सेतो प्लास्टिकको बोरा ४ गरी जम्मा ९ बोरामा राखिएको २ सय ६६ केजी ४ सय ग्राम गाँजा बरामद गरेको हो ।

गाँजा ओसार–पसारमा संलग्न मे.१ च ५१९ नं. को एम्बुलेन्स  र प्रदेश १–०२–०४–६ प १९१६ नं. को मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रहरीले एउटा मोबाइल सेट, तीनवटा रबरको ट्युब, तीनवटा लाइफ ज्याकेट, चोयाको ढोको र खकुरी पनि बरामद गरेको प्रहरीले जनाएको छ ।