विराटनगर । ठूलो परिमाणमा हुण्डीको रकमसहित मोरङ प्रहरीले विराटनगरबाट एक जना पक्राउ परे । स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित सुनसरीका देवानगञ्ज गाउँपालिका–५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका साह व्यापारी रहेको बुझिएको छ । उनी जय माता ट्रेडर्स देवानगञ्जमा धान चालमको व्यापार गर्ने व्यापारी हुन् । उनले अवैध रकम हुण्डीको पैसा गन्तव्यसम्म लैजाने क्रममा प्रहरीले उनलाई  विराटनगर–६ केशलिया मार्गबाट पक्राउ गरेको थियो ।

यसअघि कात्तिक १४ गते २१ लाख ८७ हजार रुपैयाँसहित १६ वर्षीय एक किशोर हुण्डीको रकमसहित पक्राउ परे । प्रहरीले उनलाई विराटनगरबाट पक्राउ गरेको थियो । हुण्डी कारोबारीले १८ वर्ष उमेर नपुगेका किशोरकिशोरीलाई कानून नलाग्ने भन्दै अपराधमा प्रयोग गरेको खुलेको छ । कारोबारीले बालबालिका पनि  प्रयोग गरेको प्रहरी अधिकारीहरू बताउँछन् । उक्त घटनाको हुण्डी कारोबारी विवेक गुप्ता र मनोज साह रहेको राजस्व अनुसन्धान कार्यालय इटहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरू अहिले पनि फरार छन् । साह सुनचाँदी पसल व्यवसायी रहेको बुझिएको छ । उनीहरू भारतमा रहेको बुझिएको छ । अदालतबाट पक्राउ पुर्जी जारी गरी अनुसन्धान भइरहेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । उनीहरूलाई फरार अभियुक्त बनाएर अदालतमा अभियोग लैजाने तयारी गरिएको छ ।

फागुन २६ गते विराटनगर–१५ सुडी बस्ती बस्ने धर्मानन्द साहलाई पनि प्रहरीले हुण्डीको रकमसहित विराटनगरबाट पक्राउ गर्यो । प्रहरीले साहको साथबाट ४ लाख ७५ हजार रुपैयाँ बरामद गरेको थियो ।

गत माघ २६ गते विराटनगर–१५ का रञ्जितकुमार साहलाई प्रहरीले हुण्डीको ९ लाख २० हजार रुपैयाँसहित पक्राउ गरेको थियो । अवैध हुण्डीको कारोबार गर्ने सुनसरी बर्जु गाउँपालिका–३ का २४ वर्षीय उमाकान्त राय गत असोज २७ गते नगद १० लाख रुपैयाँसहित विराटनगरबाट पक्राउ परेका थिए । उनी विराटनगरस्थित गणपति मनी ट्रान्सफरको आडमा हुण्डीको कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी उक्त मनी ट्रान्सफरका लेखा फाँटमा कार्यरत थिए ।

विराटनगरमा सहकारीको आडमा हुने गरेको हुण्डीको कारोबार यो घटनाले मनी ट्रान्सफरबाट हुने गरेको देखियो । मनी ट्रान्सफरको आडमा हुण्डीको कारोबार गर्ने उमाकान्तलाई पक्राउ गरेको एक हप्तापछि मोरङ प्रहरीले विराटनगर–७ बाट हुण्डीको कारोबार गर्ने अर्का स्थानीय ४९ वर्षीय विनोदप्रसाद साहलाई ७ लाख १८ हजार ८ सय रुपैयाँसहित पक्राउ गर्यो । प्रहरीले उनलाई कात्तिक ३ गते हुण्डी कारोबारको रकमसहित पक्राउ गरेको थियो ।

उल्लेखित घटनाले कोशी प्रदेशको राधजानी रहेको सहर विराटनगरमा अवैध हुण्डीको कारोबार फस्टाएको देखाउँछ । हुण्डीको रकम बोकेर सम्बन्धित ठाउँमा पु¥याउने भरियालाई मात्र पक्राउ गरिरहँदा अवैध हुण्डीको कारोबार गर्ने मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न नसक्दा महानगर क्षेत्रमा हुण्डी कारोबार फस्टाएको उल्लेखित घटनाले पनि पुष्टि गरेको छ ।

प्रहरीले बुधबार पक्राउ गरेका साहलाई को.७ प ५२२१ नम्बरको मोटरसाइकलमा हुण्डीको रकम गन्तव्यसम्म लैजाने क्रममा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले  जानकारी दिए । ‘पक्राउ परेका साह भरिया रहेको खुलेको छ’ डिएसपी दाहालले भने, ‘हुण्डीमा प्रयोग भएको रकम लिएर जोगवनीबाट विराटनगर आउने क्रममा उनी पक्राउ परेका हुन् ।’ उनीहरूले सम्बन्धित ठाउँमा हुण्डीको रकम पु¥याए बापत प्रतिव्यक्ति १ लाखको एक सय रुपैयाँ पाउने गरेको बयानको क्रममा प्रहरीलाई बताएका छन् ।

अवैध हुण्डीको कारोबार गर्ने गिरोहले १ लाख रुपैयाँ पठाउँदा ३ हजारदेखि ५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको प्रहरीका अनुसन्धान अधिकारीहरू बताउँछन् । मनी ट्रान्सफरबाट अहिले ५० हजारभन्दा बढी पठाउन नपाउने र बैङ्कबाट १० लाखभन्दा बढी रकम पठाउँदा स्रोत खुलाउनु पर्ने भएकोले अवैध धन्दा गर्नेहरू हुण्डीको प्रयोग गर्दछन् । हुण्डीबाट कारोबार गर्दा स्रोत देखाउनु नपर्ने र राजस्वसमेत छली गर्ने भएकोले विराटनगरमा ठूलो सङ्ख्यामा हुण्डीको कारोबार हुने गरेको प्रहरीको भनाइ छ ।

हुण्डीको कारोबार गर्नेको नेटवर्क अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको छ । प्रहरीले हुण्डी कारोबारमा संलग्न भरियालाई मात्र पक्राउ गर्दै आएको छ । चालु आर्थिक वर्षको चार महिनामा मोरङ प्रहरीले हुण्डीको रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै भरिया मात्र हुन् । प्रहरीले पक्राउ गरेपछि थप अनुसन्धान र कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने गरेको छ । प्रहरीले पक्राउ गरेर बुझाएका अभियुक्तहरूलाई थप अनुसन्धान नगरी धरौटीमा छोड्ने गरेको पाइएको छ । राजस्व कार्यालय पनि हुण्डीको गिरोहसम्म पुग्न सकेको छैन । जसले गर्दा गिरोहले अवैध हुण्डी कारोबारलाई निरन्तरता दिने गरेको छ ।

‘हुण्डीमा संलग्न गिरोहको कनेक्सन यस्तो हुन्छ कि भरिया र हुण्डी कारोबार गर्ने मुख्य मान्छेबीच चिनजान नै हुँदैन’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘त्यही भएर पनि मुख्य कारोबारीलाई पक्राउ गर्न सकिरहेका छैनौँ ।’