विराटनगर । एकै रातमा मोरङको बेलबारीस्थित तीनवटा सुन पसलमा चोरी भएको छ । मङ्गलबार राति बेलबारी नगरपालिका–१ मा रहेका तीनवटा सुन पसलमा चोरी भएको हो ।

बेलबारी–१ स्थित नेत्रप्रसाद दाहालको घरमा डेरा गरेर बस्ने छत्रबहादुर विकले सञ्चालन गरेको न्यू बराइली ज्वेलर्स एण्ड कारखाना, ईश्वरी चौंलागाईंको घरमा डेरा बस्ने रत्नमाया सुनार र किरण सुनारले सञ्चालन गरेको नवरत्न ज्वेलर्स र कुलबहादुर दर्नालले सञ्चालन गरेको न्यू वराह ज्वेलरीमा एकैरात चोरी भएको प्रहरीले जनाएको छ ।

न्यू बराइली ज्वेलर्सबाट चाँदीको बुटी १ सय वटा (अन्दाजी २५ तोला), तामाको बुटी १ सयवटा (अन्दाजी ३ सय ग्राम) र ४ आनाको सुनको पोते चोरी भएको छ ।

नवरत्न ज्वेलर्सबाट करिब एक किलो बराबरको सुन र चाँदीका सामग्री तथा गहना चोरी भएको छ । ज्वेलर्सबाट ४ आनाको सुनको जन्तर, १ तोला ५ आना काँचो सुन तथा चाँदीका सिक्री, ब्रासलेट, पाउजू, औंठी, बुटिकका सामग्री, करुवा, दियो, चम्चा, चुरा, कल्लीसमेत चोरी भएको छ ।

कुलबहादुर दर्नालले सञ्चालन गरेको न्यू वराह ज्वेलरीबाट ११ किलो बराबरको चाँदीबाट बनेका गहना र सामग्री चोरी भएको छ । चाँदीबाट बनेको खड्कुँलो, करुवा, गाग्री, थाली, बटुका, चुरा, पाउजू, कल्ली, कम्मर बेल्ट, औंठी, बिच्छी, लकेट, ब्रासलेटलगायत चोरी भएको प्रहरीले बताएको छ । चोरी भएको पसल इलाका प्रहरी कार्यालय बेलबारीदेखि करिब १ सय मिटर दक्षिणमा पर्दछ । २४ सै घण्टा सुरक्षा प्रदान हुने स्थानबाट चोरी हुँदा प्रहरीको सुरक्षाअवस्थामाथि प्रश्न चिन्ह खडा भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार पसल फोडेर चोरी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । चोरीमा संलग्नको खोजी भइरहेको उनले बताए । ‘घटनाको प्रकृति हेर्दा एउटै समूहले चोरी गरेजस्तो देखिन्छ’–डिएसपी दाहालले भने । घटनास्थल वरपर रहेका सीसी क्यामेराको अध्ययन गरेर चोरीमा संलग्नको खोजी भइरहेको उनले बताए ।