उदयपुरको बेलका नगरपालिकास्थित मैनामैनी, बबला, चम्पाकोट, बोप्ताङ एवं चौदण्डी गढी नगरपालिकाको चौदण्डी, सिद्धीपुर क्षेत्रतिर हिउँद र वर्षा याममा प्रशस्त पाइने गरेको दुर्लभ पन्छी हुचिल हिजोआज पाउन कठिन छ ।

हुचिल बासस्थान र आहाराको अभावमा लोप तथा विस्थापित हुँदै गएका छन् । केही वर्ष अगाडिसम्म पनि गाउँघर जङ्गल क्षेत्रमा प्रशस्त पाइने गरेको हुचिल हिजोआज वर्षा, हिउँद, दुवै याममा देखिन छाडेको बेलका नगरपालिका–८ मैनामैनीका दलबहादुर राई बताउँछन् ।

गाउँघरतिर नै बास बस्ने गरेको हुचिलको बासस्थानमा समेत मानिसले अतिक्रमण गर्न थालेको, अवैध शिकारसमेत हुने गरेको र आहारा अभाव हुन थालेकाले हुचिल लोप हुँदै गएको चौदण्डी गढी नगरपालिका सिद्धीपुरका धनबहादुर पुलामीमगरले बताए ।

धनबहादुरले भने, 'आजभन्दा दश, बाह्र बर्ष अगाडिसम्म पनि हिउँद वर्षा दुवै याममा गाउँघरमा रातभरि हुचिल खेल्ने रुख–रुख बसेर कराउने गर्दथ्यो, हिजोआज हुचिल बस्ने बासस्थान मानिसले मासी सके, खाने कुरा आहाराको पनि अभाव छ, शिकारीले मार्न थालेपछि हुचिल हिउँद वर्षा दुवै समयमा गाउँघरतिर देखिन छाडेका छन् ।'

बेलका नगरपालिका बबलाका कृषक देवधन राई भन्छन्, 'आजभन्दा दश वर्ष अगाडिसम्म बबला गाउँको पाखा जङ्गलतिर रातभर हुचिल कराउने बास बस्ने र गुँड तयार गरी बच्चा पनि हुर्काउने गरेका पाइथ्यो, तर मानिसको अतिक्रमण उनीहरुको बासस्थनमा बढ्न थालेको र अवैध शिकारसमेत हुन थालेपछि हिजोआज केही एक दुई फाट्टफुट्टबाहेक धेरै हुचिल मुस्किलले पाउन छाडिएका छन् ।'

उनका अनुसार दश वर्षअघिसम्म बबला पाखा जङ्गल र गाउँको रुखमा सयौँको सङ्ख्यामा हुचिल पाउने गरिएको थियो ।

बेलका मैनामैनीका ७८ वर्षीय इन्द्रबहादुर राईका अनुसार आठदश वर्षअघिसम्म पनि मैनामैनी गाउँघरको रुख, भीरपाखामा दर्जनौँ हुचिल रातभरि नै कराउने र गाउँघरसम्म आएर कराउने गर्दथे, हिजोआज रातको समयमा समेत सुनसान छ, एउटा पनि हुचिलको आवाज सुनिँदैन ।

मङ्सिर र पुसमा समेत यी क्षेत्रका गाउँघर जङ्गलमा हुचिल पाउन छाडिएको कारण यी क्षेत्रबाट विस्तारै हुचिल लोप वा विस्थापित हुँदै गइरहेको बेलका–८ का दीर्घबहादुर भुजेलले बताए ।
बेलका नगरपालिकाका पूर्वमेयर दुर्गाकुमार थापा भन्छन्, 'बेलका क्षेत्रका पहाडी जङ्गल हुचिलको लागि राम्रो बासस्थान हो, यसले बढीभन्दा बढी चिउरी, गायोको रुखमा बस्न मनपराउँछ, तर गाउँघरमा हिजोआज चिउरीको बोट काट्ने र ढाल्ने कार्य भइरहँदा हुचिल कराउने गर्दैन ।'

पाखापखेराका पोथ्रा रुख भीर पहराको रुखसमेत मास्न थालिएपछि मुख्य हुचिलको बासस्थान नै समस्या भएका कारण दुर्लभ पन्छी विस्थापित हुन थालेको यस क्षेत्रका अगुवा बताउँछन् । चोरी, शिकार, बासस्थान फँडानी हुँदै आएका कारण हुचिललगायत अन्य पन्छीहरू यस क्षेत्रबाट विस्थापित भइरहेका छन् ।