धनकुटा । धनकुटा नगरपालिका वडा नं.७ हुलाकटोलमा शनिबार राति सुन पसलमा चोरी भएको छ ।

धनकुटे होटलसँगै रहेको सुन पसलमा होटलको पछाडिबाट ३ वटा ढोका फोरेर आइतबार मध्यराति सुनपसल चोरी भएको पसलका प्रोप्राइटर सन्दीप साहले बताए । साहका अनुसार आफ्नो पसलबाट ६–७ केजी चाँदी र आधा तोला सुन चोरी भएको छ ।

सेफभित्र भएको सामान भने केही लान नसकेको र सेफबाहिर रहेको आधा तोला सुनको गहना र चाँदीका अन्य गरगहनाहरू चोरी भएको साहले बताए । सुन पसलबाट चोरले चाँदीको थाल, करुवा, सिक्री, ब्रास्लेट, पिन्जडा, औंठीलगायतको गरगहना चोरी गरेर लगेको सन्दीप साहले बताए । उनले धनकुटे होटल पछाडिको मुख्य ढोका र भित्र रहेका ३ वटा ढोका फोरेर सुन पसल चोरी गरेको पाइएको बताए । उनले भने, ‘आफ्नो पसलको सामान कति लाख बराबरको चोरी भयो भनेर केही अनुमान गर्न सकिरहेको छैन ।’ 

साहले आइतबार बिहान पसल खोल्न आउँदा मात्र आफ्नो पसल चोरी भएको थाहा पाएको बताए । पसलमा रहेको सिसी क्यामेराको तार काटेर हार्डडिक्ससमेत चोरी गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी एवम् प्रवक्ता राजबाबु महर्जनले बताएका छन् ।