धरान । झापा गाउँपालिकाको बजार क्षेत्रको अधिकांश पसलमा नेपालमा प्रतिबन्धित रहेको भारतीय ब्रान्डको खानेतेल बिक्री भएको पाइएको छ ।

झापा गाउँपालिकाले बजार अनुगमनको क्रममा शुक्रबार अधिकांश पसलमा भारतीय ब्रान्ड दुईफूलको खानेतेल फेला पारेको हो । उक्त तेल नेपालमा प्रतिबन्धित रहेको छ । उक्त तेल बरामद गरी नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिए ।

त्यस्तै अधिकांश पसलहरूमा म्याद गुज्रिएको सामान फेला परेको छ । उक्त सामान जफत गरी नष्ट गरिएको उनले जानकारी दिए । प्रतिबन्धित खानेतेल बिक्री गरेको भेटिएपछि पसल सञ्चालकहरूलाई सचेत गराई छाडिएको छ । आइन्दा बिक्री नगर्नका लागि निर्देशन दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृृत थपलियाले जानकारी दिए ।

उनका अनुसार माछामासु पसल, खाद्यान्न पसल, औषधि पसल, रेडिमेड कपडा पसल, स्टेशनरी पसललगायतका अनुगमन गरिएको हो । अनुगमनको क्रममा अधिकांश पसल स्थानीय निकायमा दर्ता नभएको पाइएपछि दर्ताका लागि निर्देशन दिइएको पनि उनले जानकारी दिए । अधिकांश पसल आन्तरिक राजस्व कार्यालयमा मात्रै दर्ता रहेको भेटिएको छ ।

अनुगमनका क्रममा पसल सञ्चालकलाई उपभोक्ताले देख्ने गरी मूल्यसूची राख्न, बिलविजक जारी गर्न, म्याद नाघेका सामग्री नष्ट गर्न, व्यवसाय दर्ता तथा नवीकरण गर्नका लागि सात दिनभित्र स्थानीय निकायमा आउन निर्देशन गरिएको छ । गाउँपालिकाले आफ्नो बजार क्षेत्रमा अनुगमन थालेको हो । अनुगमनमा गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियासमेत सहभागी रहेकी थिइन् ।