इनरुवा । सुनसरीको इनरुवामा रहेको कोसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

नगरप्रमुख केदार भण्डारीलगायतको उपस्थितिमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष रमेश तिम्सिनाले वार्षिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष तिम्सिनाले पेश गरेको वार्षिक प्रतिवेदनमा कोसी बचतले विषम र कठिन परिस्थितिका बीच समेत आफ्नो संस्थाको साख जोगाउन सफल भएको उल्लेख छ । प्रतिवेदनमा देशैभरका धेरैजसो सहकारी संस्था सञ्चालनमा देखिएको जस्तो समस्या र चुनौति कोसी बचतको हकमा भने नरहेको दाबी गरिएको छ । अध्यक्ष तिम्सिनाद्वारा पेश गरिएको प्रतिवेदनमा बचत डुब्ने र शेयर सदस्यहरूले समस्या झेल्नु पर्ने अवस्था कोसी बचतमा नरहेको बताए । उनले लगानीकर्ता तथा शेयर सदस्यहरूले ढुक्क भएर बचत तथा कारोबार गर्न सक्ने बताए । प्रतिवेदन पेश गर्दै उनले सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन उपलब्धिमूलक कार्यहरू गरिएको बताए ।

साधारण सभामा लेखा समिति संयोजक योगेन्द्र गिरीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । संस्थाको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/०८० को यथार्थ खर्च ३ करोड ८ लाख ५० हजार ६ सय ४ रुपैयाँ ७२ पैसा रहेको छ । संस्थाको आ.व. २०८०/०८१ को अनुमानित खर्च भने ३ करोड ६२ लाख ८५ हजार उल्लेख छ । यस्तै आर्थिक प्रतिवेदनमा संस्थाको वास्तविक आम्दानी आर्थिक वर्ष २०८०/०८१ को अनुमानित पाँच करोड ३४ लाख रहेको छ । आ.व.२०७९/०८० मा भने ३ करोड ५६ लाख ३३ हजार ७ सय ४६ रुपैयाँ ९३ पैसा यथार्थ आम्दानी भएको उल्लेख गरिएको छ । संस्थाका अनुसार २०७९/०८० मा कोसी बचतले ४७ लाख ८३ हजार १ सय ४२ रुपैयाँ २१ पैसा करअघिको नाफा कमाएको छ । नाफा क्रमशः बढ्दै जाने प्रक्षेपण गरिएको छ ।

उक्त साधारणसभामा संस्थाको उत्कृष्ट कर्मचारीका रूपमा प्रबन्धक रिजन तिम्सिनालाई नगदसहित सम्मान गरिएको छ । सभाले उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचत, उत्कृष्ट दिदीबहिनी बचतकर्तासहित एसईईमा उत्कृष्ट हुने शेयर सदस्यका सन्ततिलाई समेत सम्मान गरिएको छ । साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ । कोसी बचत तथा ऋण सहकारी संस्थाका सचिव कृष्णप्रसाद दाहालका अनुसार नयाँ कार्य समिति सर्वसम्मत चयन हुने प्रबल सम्भावना रहेको छ ।