विराटनगर । पुस ६ गतेबाट विराटनगर–२ शङ्करपुरमा सुरु हुने ‘मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो’ को तयारी तीव्र बनाएको छ ।

अहिले एक्स्पो लाग्ने स्थानमा स्टल निर्माणको काम धमाधम भइरहेको छ । पुस १६ गतेसम्म लाग्ने एक्स्पोमा २५ वटा स्टल थपिने भएको छ । मोरङ व्यापार सङ्घको आयोजनामा हुन लागेको एक्स्पोमा यसअघि पत्रकार सम्मेलनमा दुई सय ५० वटा स्टल रहने जानकारी गराएको थियो । स्टलको माग बढेपछि अब दुई सय ७५ वटा स्टल रहने मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले जानकारी दिए । एक्स्पोमा घरेलु साना तथा ठूला उद्योगका सामग्रीसँगै भारत, बङ्गलादेश र पाकिस्तानका पनि स्टल रहनेछ । एक्स्पोमा ६ देखि ७ लाखले अवलोकन गर्दा २० करोड बढीको कारोबार हुने उनले बताए ।

उनका अनुसार विगत वर्षहरूमा भन्दा यस पटक एक्स्पो फरक हुने  बताए । ‘एक्स्पोमा आइफिल टावरहरू बनाउने काम भइरहेको छ । यो आइफिल टावर ७० फिट अग्लो हुनेछ । यो आफैमा नौलो हो ।  आइफिल टावर हेर्ने र यसमा फोटो खिच्नेको भीड लाग्नेछ । सेल्फी स्टेन्ड हुनेछ । जहाँ बसेर मेलामा आउने अवलोकनकर्ताहरूले निर्धक्क भएर फोटो खिच्न पाउनेछन् ।’

एक्स्पोमा चिल्डे«न पार्क पनि रहने उनले बताए । ‘जहाँ मेलामा आउने साना बालबालिकाहरूले दिनभरि रमाइलो गर्ने वातावरण हामीले बनाउनेछौँ’–अध्यक्ष रिजालले भने । एक्स्पोमा फेसन शो, गायन र नृत्य प्रतियोगिता हुनेछ । यसमा विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीहरूले भाग लिनेछन् । विजेताले नगद एक लाख पाउने आयोजकले जनाएको छ ।