धरान । आफ्नो अनुयायीमाथि बलात्कार गरेको अभियोग लागेका सुनसरीको वराहक्षेत्र निवासी सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई सफाइ दिएको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता भएको छ ।

जिल्ला अदालतले गत भदौ २७ गते गिरीलाई सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा यही मङ्सिर २२ गते पुनरावेदन दर्ता गराएको हो । गिरीले २०७६ साल कात्तिक ४ गते आफ्नै अनुयायी महिलामाथि करणी गरेको आरोप लागेको थियो । उक्त मुद्दामा पुर्पक्षमा थुनामा परेका गिरीलाई जिल्ला अदालतले भदौ २७ गते सफाइ दिने फैसला सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध जिल्ला वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको हो । सुनसरी जिल्ला अदालतले दोस्रो पटक मुद्दाको सुनुवाइ गर्दै सफाइ दिएको थियो । करणीको आरोप लगाउने व्यक्तिले नै प्रमाणको भार पुर्याउनुपर्ने भन्दै अदालतले गिरीमाथिको आरोप प्रमाणित हुन नसक्ने भन्दै सफाइ दिएको थियो ।

यसअघि पनि जिल्ला अदालतले दिएको सफाइविरुद्ध उच्च अदालतमा पुनरावेदन परेपछि फरार रहेका उनलाई केही समयपछि पक्राउ गरिएको थियो । केही समय थुनामा समेत रहेका गिरीको मुद्दालाई उच्च अदालत विराटनगरले २०७९ जेठ ३ गते पुनः सुरुको अदालतमै फर्काइदिई सुरुदेखि नै सुनुवाइ गर्न आदेश दिएको थियो ।

तत्कालीन समयमा पीडित पक्षका कानून व्यवसायीको बहस नसुनी फैसला गरेको भन्दै चर्को आलोचना भएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध २०७७ साल फागुन महिनामा पुनरावेदन दर्ता भएको थियो । दोस्रो पटक पनि गिरीलाई सफाइ दिएपछि पुनरावेदन परेको हो ।