काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका काङ्ग्रेस नेता बालकृष्ण खाणलाई ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले बिहीबार खाणलाई ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ–‘बालकृष्ण खाणबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०४७ को दफा ६८ र ७२ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट २०८०/८/१ मा थुनामा राखी पुर्पक्ष गर्ने गरी भएको आदेशलाई बेरितको देखिँदा बदर गरी तीस लाख धरौटी, जमानत वा बैङ्क जमानत दिई/लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी मिति २०८०/०८/१५ मा भएको रायमा सहमतिको राय कायम गरिदिएको छ ।’

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते उक्त विवादमा राय बाझी आदेश भएको थियो । आदेशमा खाणको हकमा तेस्रो न्यायाधीशसमक्ष पेस गर्न भनिएको थियो । सोहीअनुसार बिहीबार सुनुवाइ भएर अदालतबाट सो निर्णय भएको हो ।

अदालतले उक्त विवादमा नौ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने छ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो । (रासस)