विजयपुुर । धरान–१५ स्थित चिल्ड्रेन्स् एकाडेमी स्कुलले वार्षिकोत्सव मनाएको छ ।
बिहीबार स्कुलले विविध कार्यक्रमसहित अभिभावक दिवस तथा २८ औँ वार्षिकोत्सव मनाएको हो । स्कुलका प्रिन्सिपल गीता गुरुङ, भाइस प्रिन्सिपल वसन्त गुरुङ र संस्थापक सदस्य उत्तम गुरुङले कार्यक्रमको संयुक्तरूपमा पानसमा बत्ती बालेर उद्घाटन गरे । प्रिन्सिपल गुरुङले स्वर्गीय पिता कर्णबहादुर गुरुङ र स्वर्गीय माता कृष्णकुमारी गुरुङको योगदानको स्मरण गरिन् ।
उनले भनिन्, ‘विद्यालयले विद्यार्थीको शारीरिक, मानसिकलगायत चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापमा विद्यालयले जोड दिएको छ । फलस्वरूप विद्यार्थीहरूले विभिन्न प्रतियोगिताहरूमा सफलता हासिल गरेर विद्यालयलाई चिनाउने काम गरेका छन् । यसमा अभिभावकहरूको सदैव साथ सहयोग र सुझाव रहेको छ ।’ उनले अभिभावकको सकारात्मक सल्लाह, सुझावको कारण विद्यालय अहिलेको अवस्थामा आएको बताउँदै भनिन्, ‘आगामी दिनमा पनि यसरी नै अभिभावकहरूको सल्लाह र सुझावको विद्यालयले अपेक्षा राखेको छ ।’
कार्यक्रममा धरान उपमहा नगरपालिकाका शिक्षा महाशाखाका अधिकृत रमेशकुमार साह, माउण्ट हर्मन एकेडेमीका प्रिन्सिपल अनुप योञ्जन, होलील्याण्ड इन्टरनेशनल स्कुलका प्रिन्सिपल तथा प्याब्सन धरानका अध्यक्ष राजकुमार वारुमहाङ, माउण्ट हर्मन एकेडेमीका ड्राइरेक्टर तथा एन्फा सुनसरीका अध्यक्ष नवीन राई, धरान मोडेल स्कुलका प्रिन्सिपल तथा प्याब्सन धरानका को–अर्डिनेटर दीपक घिमिरे, सेण्ट जोसेफ सेकेण्डरी स्कुलका प्रिन्सिपल तथा प्याब्सन धरानका उपाध्यक्ष श्रीधन राई र नेपाल बौद्ध गुम्बा धरान–१८ का अध्यक्ष बकसमान गुरुङको उपस्थिति रहेको थियो ।
अतिथिहरूहरूलाई विद्यालयकी प्रिन्सिपल गुरुङले मायाको चिनो प्रदान गरिन् भने विद्यालयका शिक्षकशिक्षिकाहरूलाई भाइस प्रिन्सिपल वसन्त गुरुङले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले नाटक तथा नृत्य प्रस्तुत गरेका थिए भने अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा भाइस प्रिन्सिपल वसन्त गुरुङले उपस्थित सबै अभिभावक तथा शिक्षकशिक्षिकाहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।
































