विराटनगर । विराटनगरका एक  युवा गोली लागेर घाइते भएका छन् । नेपाल–भारत सीमाक्षेत्र दशगजामा आइतबार साँझ ५ः४० बजे गोली लागेर विराटनगर–८ मधुमाराका २७ वर्षीय निर्दोष सङ्ग्रौला घाइते भएका हुन् ।

विराटनगर–१६ दक्षिणी गेटदेखि पारि भारतीय भूमिमा अज्ञात समूहले गोली चलाउँदा उनको बायाँ तिघ्रामा गोली लागेको छ । घाइते सङ्ग्रौलाको उपचार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ । ‘उपभोग्य खाद्यवस्तु खरिदको लागि जोगवनी गएको थिएँ ।

साँझमा घर फर्कंदा जोगवनीदेखि उत्तर रेल–वे स्टेशनदेखि माथितिर दक्षिणगेटबाट विराटनगर जाँदै थिएँ । त्यही बीचमा ६ जना केटाहरूसँग भेट भयो । केहीबेर भनाभन भयो । गोली हानिदिन्छु भन्यो । हान् त भनेको, साँच्चै गोली नै हानिदियो’–कोशी अस्पतालमा उपचार गराइरहेका घाइते सङ्ग्रौलाले भने ।

कोशी अस्पतालका मेडिकल अफिसर डा. तुलसी गोइतले एक्स–रे गर्दा तिघ्रामा गोलीजस्तो देखिएको बताए । ‘तिघ्राभन्दा तल्लोपट्टि स्याडो देखिएको छ । बुलेटजस्तो छ । तिघ्रादेखि तल फ्याक्चर पनि भएको छ । यो बुलेटको फोर्ज लागेर पनि हुनसक्छ’ उनले भने, ‘इनसिजर गरेर निकालेपछि मात्र कन्फर्म गर्न सकिन्छ ।’ यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले दशगजा क्षेत्रमा नभएर भारतीय भूमितिर गोली चलेको हुनसक्ने बताए । ‘दशगजामा भएको भए प्रहरीलाई थाहा हुने थियो । हामीले पनि बिरामी हस्पिटल आएपछि मात्र थाहा पाएका छौँ । घटनाका विषयमा अनुसन्धान भइरहेको छ’–उनले भने ।