विराटनगर । एक अर्बको लगानीमा मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा नयाँ उद्योग खुलेको छ । नेपाल वेलहोप एग्री–टेक प्रा.लि.ले पेलेट दाना उत्पादन गर्न नयाँ उद्योग सञ्चालनमा ल्याएको हो ।

नेपालको व्यावसायिक घराना वैद्य अर्गनाइजेसन र चिनियाँ वेलहोपको संयुक्त लगानीमा सञ्चालनमा आएको सो उद्योगले नेदरल्यान्ड्सको भेन आर्सन मेसिनको प्रयोगमार्फत् दाना उत्पादन थालेको छ । गुणस्तरीय दाना उत्पादनका लागि प्रसिद्ध मानिने सो मेसिन नेपालमै पहिलोपटक प्रयोग भएको कम्पनीका प्रोडक्सन प्रमुख डम्बर आलेले जानकारी दिए । दाना उत्पादनमा उत्कृष्ट मेसिनका रूपमा परिचित भेन आर्सनले गुणस्तरीय दाना उत्पादन गर्ने उनको भनाइ छ । पूर्णरूपमा स्वचालित मेसिनद्वारा उत्पादन हुने हुँदा गुणस्तरमा सधैँभरि एकरूपता कायम हुने उनले बताए ।

‘पहिले पेलेट दाना बनेपछि तेल मिक्स गर्ने गरिन्थ्यो, त्यसो गर्दा दाना नरम हुने र धुलोको मात्रा बढी हुने समस्याले गर्दा चल्लाले खान सक्थेन’ उनले भने, ‘यो मेसिनले ओइल स्प्रे दाना उत्पादन गर्छ, जुन कडा हुन्छ र धुलो हुँदैन, जसले गर्दा दाना खेर जाने समस्या हुँदैन । जसकारण पशुपन्छीले सहजै खान्छन् र त्यसमा भएको पोषक तŒव लिन्छन् ।’ गुणस्तरीय दाना उत्पादनका अलावा ‘प्लास्टिक लेमिनेटेड’ बोरामा ‘प्याकेजिङ’ गर्ने भएकाले दानाले वायुमण्डलको ‘मोइस्चराइजर’ तान्ने सम्भावना कम हुने हुँदा यसको आयु अरूतिरको भन्दा राम्रो हुनेगरेको उनको दाबी छ ।

अत्याधुनिक प्रविधिबाट उत्पादित पेलेट दानाको मूल्य प्रतिस्पर्धी देखिए पनि दाना खपत कम हुने र उत्पादकत्व बढी हुने भएकाले समग्रमा किसानहरूलाई अरूको तुलनामा बढी नाफामूलक हुने कम्पनीका राष्ट्रिय बिक्री संयोजक डा. जितेन्द्र लामाले बताए । अहिले सो उद्योगबाट कुखुरा, सुँगुर–बङ्गुर, गाई–भैँसी र माछाका लागि मौसम र स्वादअनुसारको ४२ प्रकारका पेलेट दाना उत्पादन हुने गरेको छ । हाल प्रतिदिन १६ घण्टा सञ्चालन हुने उद्योगबाट प्रतिघण्टा २० मेट्रिक टन दाना उत्पादन गरिँदै आएको छ । निकट भविष्यमै बाख्राका लागि पनि दाना उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

मोरङको झोराहाटमा बाहेक नेपाल वेलहोपका चितवनको भरतपुर–५ मा र बाँकेको कोहलपुर–१४ पनि उद्योग रहेका कारण विजय पेलेट दाना देशभरि नै उपलब्ध रहेको उनको भनाइ छ । उच्चस्तरीय प्रविधिको प्रयोग गर्दा कम्पनीको उत्पादन लागत बढ्ने भए पनि किसानलाई सहुलियत दरमा उच्च गुणस्तरीय दाना बिक्री गरिरहेको कम्पनीका लेखा शाखा प्रमुख विशाल दवाडीले जानकारी दिए । साढे तीन बिघा क्षेत्रफलमा फैलिएको झोराहाटस्थित उद्योगमा सय जनाभन्दा बढीले रोजगारी पाएका छन्, त्यसमा स्थानीयसमेत छन् ।