कोशी प्रदेशको तराईका तीन जिल्लामा पर्ने नेपाल–भारत सीमाक्षेत्र दशगजामा रहेका सीमा–स्तम्भको रङरोगनको काम सुरु भएको छ  । झापा, सुनसरी र मोरङमा नेपाल सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलले संयुक्तरूपमा सीमा–स्तम्भको रङरोगनको काम सुरु गरेको हो ।

झापा र सुनसरीमा केही दिनअगाडि सुरु भएको हो भने मोरङमा शुक्रबार एक कार्यक्रम आयोजना गरी सीमा–स्तम्भ रङरोगनको काम सुरु भएको छ । कोशी प्रदेशमा नेपाल–भारत सीमास्थित १८ सय ६७ सीमा–स्तम्भमध्ये ८ सय २७ वटामा रङरोगन सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी डिआईजी अञ्जनीकुमार पोखरेलले जानकारी दिए ।

उक्त सीमा–स्तम्भमध्ये बिजोर नम्बरका ४ सय ८३ वटा नेपाल सशस्त्र प्रहरी बलले र जोर नम्बरका ३ सय ४४ वटा सीमा–स्तम्भको भारतीय सीमा सुरक्षा बलले मर्मत तथा रङरोगन कार्य सुरु गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वार्टर कङ्कालिनी मोरङले विराटनगर महानगरपालिका–१८ दामादिगीस्थित १७७÷१ (६५) नम्बरको सीमा–स्तम्भबाट मर्मत तथा रङरोगन गर्ने कार्य सुरु गरेको छ । उक्त गणका गणपति एसपी तीर्थबहादुर थापाले मोरङस्थित ३३ वटा सीमा–स्तम्भको मर्मत शुक्रबारबाट सुरु भएको बताए । सुनसरी, मोरङ र झापामा जोर नम्बरका सीमा–स्तम्भको मर्मत कार्य सुरु गरिसकेको र भारतीय पक्षले बिजोर नम्बरको मर्मत तथा रङरोगन गर्ने कार्य सम्पन्न गरिसकेको छ ।

डिआइजी पोखरेलका अनुसार सुनसरीमा १ सय ३३, मोरङमा ३३ र झापामा ३ सय १७ गरी जम्मा ४ सय ८३ वटा सीमा–स्तम्भको मर्मत कार्य डेढ महिनाभित्र सम्पन्न गरिने बताए । उक्त सीमा–स्तम्भमध्ये १ सय ९९ वटाको रङरोगन, २ सय २१ वटाको सामान्य मर्मत, ५९ वटाको मध्यम् मर्मत र ४ वटाको पूर्ण मर्मत गर्नुपर्ने अवस्था रहेको पोखरेलले बताए ।

नेपाल–भारत बाउन्ड्री वर्किङ गुप्रको सन् २०१८ सेप्टेम्बर २१ तारिखका दिन बसेको पाँचौं बैठकले सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमा–स्तम्भहरूमध्ये जोर नम्बरको भारतीय सशस्त्र सीमा बलले नेपाल सशस्त्र प्रहरी बलको उपस्थितिमा र बिजोर नम्बरको नेपाल सशस्त्र प्रहरी बलले भारतीय सीमा बलको उपस्थितिमा मर्मत तथा रङरोगन गर्ने निर्णय भएको थियो । उक्त निर्णयअनुसार नेपाल सरकारको मन्त्रिपरिषद्ले २०७७ साउन १९ गते सशस्त्र प्रहरीलाई मर्मतका लागि जिम्मेवारी दिने निर्णय गरेको थियो । त्यसपछि सीमाक्षेत्रमा रहेका सीमा–स्तम्भहरूको निर्माण, मर्मतसम्भार र पुनस्र्थापनासम्बन्धी मापदण्ड २०८० अनुसार मर्मत तथा रङरोगन कार्य सुरु भएको डिआइजी पोखरेलले बताए ।

कोशी प्रदेशमा चीनतर्फ २६१.७ र भारततर्फ ४२७.६ गरी ६८९.३ किलोमिटर अन्तर्राष्ट्रिय सिमाना रहेको छ । जसमा चीनतर्फ २० वटा र भारततर्फ ८ सय ६७ वटा सीमा–स्तम्भ रहेको छ । उक्त सीमाक्षेत्रमा नेपाल सशस्त्र प्रहरी बलको ५७ वटा बोर्डर आउट पोष्ट रहेको र त्यसमा कार्यरत जनशक्तिले प्रभावकारीरूपमा सीमा सुरक्षाका लागि सीमा क्षेत्रका बासिन्दाको सहयोग अपरिहार्य रहेको पोखरेलले बताए ।

‘सीमाक्षेत्रमा कार्यरत सशस्त्र प्रहरीले खुला सिमानाको प्रत्यक्ष निगरानी गर्न कठिन रहेकाले सीमाको वास्तविक रक्षक सीमाक्षेत्रका बासिन्दा नै हो’ उनले भने, ‘त्यसैले सशस्त्र प्रहरीले सीमाक्षेत्रका बासिन्दाहरूको सहयोग र समन्वयमा सीमाको सुरक्षालाई प्रभावकारी बनाउँदै लगेका छन् ।’

भारतीय सशस्त्र सीमा बल ५६ बटालियन बथनाहाका कमाण्डेण्ट सुरेन्द्र विक्रमले सीमा–स्तम्भ नेपाल–भारतको एकताको प्रतीकका साथै सम्प्रभुता रहेको बताएका छन् । उनले सीमामा अनेकौँ आपराधिक गतिविधि हुँदै आएको र यो नै दुवैतर्फका सुरक्षाकर्मीको प्रमुख चुनौती भएको बताए ।

उनले सन् २०१४ अगाडि मर्मत नभएका सीमा–स्तम्भको पनि मर्मतका लागि नेपाल सरकारको ध्यानाकर्षण गराए । उनले सीमा क्षेत्रका बासिन्दाको समस्यामा पनि दुवै देशका सुरक्षाकर्मी खरो रूपमा उत्रिनु अहिलेको आवश्यकता भएको बताए । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलगायतले बोलेका थिए ।