सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वार्टर सुनसरीले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा स्तम्भहरूको मर्मत–सम्भार तथा रङ्गरोगनको काम थालेको छ ।

नेपाल–भारत सीमा अन्तर्गत देवानगञ्ज गाउँपालिका वडानम्बर ३ मा रहेको मुख्य सीमास्तम्भ नम्बर १ सय ८९ बाट सशस्त्र प्रहरीले मर्मत तथा रङ्गरोगनको काम थालेको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वार्टर सुनसरीले आयोजना गरेको औपचारिक कार्यक्रमका बीच सुनसरीतर्फका सीमास्तम्भ मर्मत तथा रङ्गरोगनको कामको सुरुवात गरिएको हो । 

सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी ओम भट्टराईसहित सीमानाका पुगेको भारतीय सीमा जोडिएका पालिकाका प्रमुख र भारतीय समकक्षीसहितको उपस्थितिमा सीमास्तम्भ मर्मत तथा रङ्गरोगन कार्यको सुरुवात गरिएको हो । 

सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वार्टर सुनसरीका गणपति एसपी लकेशकुमार तुम्बाहाङ्फेले सुनसरीतर्फका १ सय ३३ वटा अन्तर्राष्ट्रिय सीमास्तम्भहरू मर्मत–सम्भार गरिने बताए ।

एसपी तुम्वाहाङ्फेका अनुसार नेपाल सरकारको निर्णयबमोजिम एपीएफले जिम्मेबारी पाएबमोजिम बिजोर अङ्कका सीमा स्तम्भहरूको मर्मत–सम्भारको काम अघि बढाइएको हो । जोर अङ्कका स्तम्भहरू भने भारतीय पक्षले मर्मत–सम्भारको काम सकेको एसपी तुम्वाहाङ्फेले जानकारी दिए । 

सन् २०१८ मा सम्पन्न नेपाल–भारत बाउन्ड्री वर्किङ गु्रपको पाँचौं बैठकले सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमा–स्तम्भहरूमध्ये जोर भारतीय पक्ष र बिजोर नम्बर नेपाली पक्षले मर्मत–सम्भार गर्ने निर्णय भएको थियो । 

वि.सं. २०७७ साउन १९ गते सम्पन्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपालतर्फका अन्तर्राष्ट्रिय सीमा–स्तम्भको मर्मत–सम्भारको कार्य गर्ने जिम्मेवारी सशस्त्र प्रहरी बल नेपाललाई दिने निर्णय गरेको थियो । 

कोशी प्रदेशको हकमा वराह बाहिनीले सीमा–स्तम्भ मर्मत–सम्भारको नेतृत्व सम्हालेको छ । वराह बाहिनीका अनुसार कोशी प्रदेशमा जम्मा ४ सय ८४ वटा सीमा–स्तम्भ मर्मत–सम्भार गरिनेछन् । जसमा सुनसरीमा १ सय ३३, मोरङका ३४ र झापामा ३ सय १७ वटा स्तम्भ रहेका छन् । जसमध्ये १ सय ९९ वटाको रङ्गरोगन, २ सय २१ वटाको सामान्य मर्मत, ५९ वटाको मध्यम् मर्मत र ५ वटाको सीमा स्तम्भको हकमा पूर्ण मर्मत गरिनेछ ।