नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मुलुकमै पहिलो पटक पानी जहाज कमिटी गठन गरेको छ । सुनसरीको चतराघाटस्थित जेटबोट पोर्टमा जेटबोट श्रमिकहरुको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पानीजहाज कमिटी सुनसरी गठन गरेको हो ।

सुनसरीको चतरादेखि भोजपुरको कोप्चेसम्म चल्ने
पानीजहाजका कप्तान, सहायक कप्तान, पोर्ट र काउन्टरमा काम गर्ने श्रमिक तथा स्वरोजगारहरूको भेलाले अनिस थापाको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा तीलक दर्जी (कप्तान), सचिवमा अनिता श्रेष्ठ, सहसचिवमा सुजन श्रेष्ठ (कप्तान) र कोषाध्यक्षमा महेश साह चयन भएका छन् ।

कमिटीका सदस्यहरुमा शंकर नेपाल, पवन न्यौपाने (कप्तान),  सानू राई (कप्तान), मनिष घिमिरे (कप्तान), अनिल सुब्बा, प्रवीण राई (कप्तान) र चेतन राई (कप्तान) चयन भएका छन् ।
कमिटीका सल्लाहकारमा राजेन्द्र कार्की, नवीन पौडेल र विशाल राई रहेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा कमिटी गठन भएको हो । कमिटी गठनका सन्दर्भमा अध्यक्ष ज्वालाले जेटबोट सन्चालनमा श्रमिकहरुले भौतिक र आर्थिक सुरक्षाको कठिनाइ भोग्नु परेको उल्लेख गरे । सरकारले पानीजहाज सन्चालनका ठोस नीति निर्माण गर्न नसकेको अध्यक्ष ज्वालाले बतएका थिए । उनले स्थायी बन्दरगाहा(पोर्ट) व्यवस्थित नभएको,
बोटका कप्तानहरु अनुमतिपत्रविहीन भएक, जेटबोट व्यवसाय दीगो नभएर एडभेन्चर टाइपको भएको बताए ।

'राज्यले यी यावत विषय ख्याल गर्नु पर्ने अवस्था छ, राज्य उदासीन भएको देखियो,' अध्यक्ष ज्वालाले भने, 'चन्दा आतङ्क, सुरक्षाको व्यवस्थालगायतका संवेदनशील विषयमा सरकारको ध्यान दिनुपर्ने देखिएको छ ।'

अध्यक्ष ज्वालाले भोजपुरको कोप्चेसम्मको रुट व्यवस्थापन गर्नु पर्ने बताए । 'सुनसरी, धनकुटा र उदयपुर जिल्लाको कोर्डिनेसन गर्नुपर्छ,'ज्वालाले भने, 'बिमा गरे पनि श्रमिक सुरक्षित छैनन, जलमार्गको विषयमा सरकारी उदासिनता रहेछ ।'

सङ्गठनको पहलमा पानीजहाजका कप्तान, सहायक कप्तान, पोर्ट र काउन्टरमा काम गर्ने श्रमिक तथा स्वरोजगारहरूको वृत्तिविकासमा काम गर्ने अध्यक्ष ज्वालाले बताए । उनले राज्यलाई जिम्मेवार बनाउनसमेत जेटबोट कमिटी गठन गरिएको बताए ।

सप्तकोसीमा चल्ने जेटबोट तथा मोटरबोटमा लगानी गर्न लगानीकर्ता आकर्षित भइरहे पनि सञ्चालनका लागि उपयुक्त पूर्वाधार निर्माण भएको छैन । सप्तकोसीका ठाउँ–ठाउँमा ठूला–ठूला चट्टान, भङ्गालो आदिको व्यवस्थापन नहुँदा यात्रुहरू जोखिममा छन् । कोसीमा बाँस ढुवानी हुँदा पानी जहाज ठोकिने र दुर्घटनामा पर्ने खतरा उत्तिकै छ । पानी जहाज सञ्चालन भए पनि जहाज चालकलाई लाइसेन्स दिने व्यवस्था नेपालमा छैन । 

हाल कोसी नदीमा दन्तकाली जलयातायात प्रा.लि., वराहक्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि., वराह जलयातायात प्रा.लि.को जेटबोट सञ्चालनमा छन् । जेटबोटमा  ५० बढी कर्मचारी आश्रित रहेका छन् । १० बढी व्यावसायिक कम्पनीले सन्चालन गरिरहेको जेटबोट प्राविधिक कारणले बन्द छन् ।